नयाँ दिल्ली: पूर्व सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेको आत्मकथा ‘फोर स्टार्स अफ डेस्टिनी’ का अनधिकृत प्रतिहरू भेटिएको खबरबीच प्रकाशक ‘पेङ्गुइन र्यान्डम हाउस इन्डिया’ (पीआरएचआई) ले स्पष्ट पारेको छ कि उक्त पुस्तकको प्रकाशन अधिकार केवल उनीहरूसँग मात्र रहेको छ र हालसम्म पुस्तक प्रकाशित भएको छैन।
दिल्ली प्रहरीले नरवणेको अप्रकाशित पुस्तक सामाजिक सञ्जालमा फैलिएको विषयमा यसअघि नै प्राथमिकी दर्ता गरिसकेको छ। पीआरएचआई ले सोमबार जारी गरेको विज्ञप्तिमा पुस्तकको कुनै पनि प्रति चाहे मुद्रित होस् वा डिजिटल, अहिलेसम्म जारी वा उपलब्ध नगराइएको स्पष्ट पारेको छ। प्रकाशकले हाल अनलाइन वा अन्य माध्यममा फैलिरहेका कुनै पनि संस्करणलाई कपिराइट उल्लङ्घन मानिने चेतावनी दिएको छ।
विज्ञप्तिमा भनिएको छ,
“पेङ्गुइन र्यान्डम हाउस इन्डिया यो स्पष्ट गर्न चाहन्छ कि भारतीय सेनाका पूर्व प्रमुख जनरल एमएम नरवणेले लेखेको आत्मकथाको प्रकाशन अधिकार केवल हाम्रो पासमा मात्र छ। साथै, हामी यो पनि स्पष्ट गर्न चाहन्छौं कि उक्त पुस्तक हालसम्म प्रकाशित गरिएको छैन। कुनै पनि प्रति मुद्रित वा डिजिटल रूपमा प्रकाशित, वितरण, बिक्री वा अन्य कुनै माध्यमबाट सर्वसाधारणका लागि उपलब्ध गराइएको छैन।”










