भारत–पाकिस्तान टी२० विश्वकप खेल्ने निर्णय

592453-pcb-970-545

पाकिस्तानले बहिष्कार फिर्ता लिँदा श्रीलंकाका राष्ट्रपतिद्वारा धन्यवाद

कोलम्बो: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले यही १५ फेब्रुअरीमा भारतविरुद्ध कोलम्बोमा आयोजना हुने टी२० विश्वकप खेलको बहिष्कार फिर्ता लिन पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)लाई निर्देशन दिएकोमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफप्रति आभार व्यक्त गरेका छन्।
बंगलादेश र श्रीलंकाको आग्रहपछि पाकिस्तान सरकारले बहिष्कारको अपिल फिर्ता लिने निर्णय गरेसँगै भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल तय कार्यक्रमअनुसार नै हुने भएको छ। यससँगै उक्त खेलमाथि देखिएको अन्योल पनि अन्त्य भएको छ।
राष्ट्रपति दिसानायकेले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, “हाल सञ्चालनमा रहेको टी२० क्रिकेट विश्वकपमा भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल कोलम्बोमा आयोजना हुने खबरले अत्यन्त खुशी लागेको छ।”
श्रीलंका क्रिकेटले यसअघि पीसीबीलाई पत्र लेख्दै आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो। त्यसपछि राष्ट्रपति दिसानायकेले सोमबार राति प्रधानमन्त्री शाहबाज शरीफसँग टेलिफोन संवाद गरी खेलमा सहभागी हुन मनाउन प्रयास गरेका थिए। पाकिस्तानका प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार दिसानायकेको आग्रह स्वीकार गरिएको छ र यससँगै पाकिस्तानद्वारा प्रस्तावित बहिष्कार औपचारिक रूपमा समाप्त भएको छ।
यसअघि पाकिस्तानले भारतविरुद्ध खेल नखेल्ने घोषणा गरेको थियो, जसलाई बंगलादेशलाई प्रतियोगिताबाट बाहिर गरिएको विषयसँग जोडिएको राजनीतिक विरोधका रूपमा लिइएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सुरक्षा कारण देखाउँदै बंगलादेशले भारतसँगको खेल श्रीलंकामा सार्न गरेको आग्रह अस्वीकार गरेपछि बंगलादेश प्रतियोगिताबाट बाहिरिएको थियो।

About Author

Advertisement