टोक्यो: जापानमा प्रधानमन्त्री सनाए ताकाइचीले आह्वान गरेको मध्यावधि निर्वाचनअन्र्तगत आज मतदान जारी छ।
ताकाइचीले आफ्नो नेतृत्वलाई अनुमोदन गराउन आह्वान गरेको यो मध्यावधि निर्वाचनमा देशभरका मतदाता हिउँ छिचोल्दै मतदान केन्द्र पुगिरहेको बीबीसीले जनाएको छ।
राजधानी टोकियोसहितका क्षेत्रमा जारी हिमपातका बाबजुद बिहान ७ बजेदेखि मतदान जारी छ। ४ सय ६५ सिटका लागि करिब १३ सय उम्मेदवार मैदानमा छन्। भ्रष्टाचारका काण्ड र बढ्दो महँगीका बीच पहिलो महिला प्रधानमन्त्री ताकाइचीलाई बहुमत जोगाउने चुनौती छ।
यदि बहुमत नआएमा उनले राजीनामा दिने घोषणा गरिसकेकी छन्। बेलुका ८ बजे मतदान सकिएलगत्तै गणना सुरु हुनेछ।
यसैबीच, थाइल्याण्डमा आम निर्वाचन तथा संविधान परिमार्जनका लागि जनमत संग्रह भइरहेको छ। ५ करोड २० लाखभन्दा बढी मतदाताले नयाँ संसदसँगै सैनिक समर्थित पुरानो संविधान फेर्ने वा नफेर्ने भन्नेमा आफ्नो मत दिइरहेका छन्।
५ सय सिटको प्रतिनिधि सभाका लागि भइरहेको यो प्रतिस्पर्धामा वर्तमान प्रधानमन्त्री अनुटिन चार्नवीराकुल र युवापुस्तामा लोकप्रिय पिपल्स पार्टी बीच कडा प्रतिस्पर्धा देखिएको छ।
यो निर्वाचनले थाइल्याण्डमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने अपेक्षा गरिएको छ। आजै बेलुकासम्ममा प्रारम्भिक नतिजा आउने सम्भावना छ।










