बिर्तामोड: आयोजक टिम झापा–११ फुटबल क्लबले शानदार कमब्याक गर्दै डोमालाल राजवंशी रंगशालामा जारी एक्स्ट्रिम सातौँ झापा गोल्डकप (विनोद बस्नेत स्मृति संस्करण) को क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
नेपाल पुलिस क्लबविरुद्ध १–० ले पछि परेको अवस्थामा खेल उल्टाउँदै झापा–११ ले २–१ को जित निकालेको हो। झापाका लागि शिशिर लेखी र राजेश दाहालले एक–एक गोल गरे।
खेलको १२औँ मिनेटमा पुलिसले अग्रता लिएको थियो। धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमार्फत गोल गर्दै पुलिसलाई अघि बढाएका थिए।
तर झापाले पहिलो हाफको इन्ज्युरी समयमा बराबरी गोल फर्कायो। राजेश दाहालको प्रहारलाई डिबक्सभित्र अनमार्क रहेका शिशिर लेखीले सदुपयोग गर्दै गोल गरे।
खेलको निर्णायक गोल ५९औँ मिनेटमा राजेश दाहालले गरे। शिशिर लेखीको फ्रिकिकमा दाहालले पोस्टको दिशा दिएपछि बल जाली चुमेको थियो। सोही गोल झापाको जितका लागि निर्णायक बन्यो।
पाएका राम्रा अवसर सदुपयोग गर्न नसक्दा नेपाल पुलिस प्रतियोगिताबाट बाहिरिएको छ। ३५औँ मिनेटमा विजय उराउको प्रहार झापाका गोलकिपर सन्दीप लिम्बुले रोके। ५२औँ मिनेटमा वीरेन्द्र साहको प्रहार पनि गोलरक्षकले कठिन रूपमा बचाए। ५७औँ मिनेटमा गोलकिपर अगाडि बढेको अवस्थामा पाएको अवसर समेत खेर जाँदा पुलिस पहिलो चरणबाटै बाहिरिन बाध्य भयो।
झापाका एरोन थापा मगरले ४१औँ मिनेटमा डिबक्स बाहिरबाट गरेको हेडर क्रसबारमा लागेर फर्किएको थियो। टेक्निकल र आक्रामक खेल प्रदर्शन गरेको झापाले खेलभर पुलिसलाई दबाबमा राखेको थियो।
खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टोली झापाका राजेश दाहाल घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
आइतबार हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुनेछन्।
प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यामाहा कम्पनीको मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ। विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा नेपालका विभागीय क्लबहरू नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजक झापा–११ तथा भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको रोयल थिम्पु कलेज र मलेसियाको एन पेनाङ एफसी सहभागी छन्।
यसअघि प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले गरेकी थिइन्। उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख प्रसाईंले रंगशालाको संरचना निर्माणका लागि नगरपालिका तयार रहेको तर जग्गा स्वामित्वसम्बन्धी विवादका कारण लगानीको वातावरण नबनेको बताइन्।
आयोजक समितिका अध्यक्ष केदार गिरीले झापा गोल्डकप नेपाली फुटबललाई एकताको सूत्रमा बाँध्ने माध्यम बनेको बताए। उनले झापालाई फुटबलको हब बनाउने दिशामा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
गोल्डकपका संरक्षक जलकुमार गुरुङले झापा गोल्डकपले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल हुँदै गएको बताए।
उद्घाटन समारोहमा डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारकी छोरी सम्पति राजवंशीलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको थियो। साथै डोमालाल राजवंशीको शालिक अनावरण गरिएको थियो। कार्यक्रममा पूर्वअध्यक्ष विनोद बस्नेतको सम्मानमा पूर्वेली युथ क्लबले मार्चपास गरेको थियो।










