मायामी: नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाउनुभएकाे छ।
जोशीले सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व किर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका हुन्।
शुक्रवार अमेरिकाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेञ्ज’को समापन समारोहमा गिनिज बुकका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गर्नुभयाे।
अन्टार्टिकाबाट शुरु भएको म्याराथन, अफ्रिकाको केप टाउन, अष्ट्रेलियाको पर्थ, एशियाको दुबई, स्पेनको म्याड्रिड, ब्राजिल हुदै सातौ दिनमा अमेरिकाको मायामीमा सम्पन्न भएको हो।
अत्यन्त चुनौतीपूर्ण मानिने ‘विश्व म्याराथन च्यालेञ्ज’ २०१५ बाट सञ्चालन हुदै आएको छ । सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकोले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ । म्याराथनमा जोशी सहित ३२ देशका ५६ धावक सहभागी हुनुहुन्थ्याे।
जोशीले आफू जन्मेको माटो र सम्पदाप्रतिको सम्मानका लागि दौरा सुरुवालमा म्याराथनमा सहभागी भएको बताउनुभयाे । दौरा सुरुवाल काठमाण्डौंका विश्व गौतमले तयार गर्नुभएकाे थियाे ।









