कोलकाता: सत्रहौँ विधानसभाको अन्तिम तथा बजेट अधिवेशनको दोस्रो दिन पश्चिम बंगाल विधानसभामा तीव्र हंगामा देखियो। सत्तारुढ दलका मन्त्री र विपक्षी दलका नेताबीच कडा वाक्युद्ध भयो। उल्लेखनीय कुरा के छ भने विपक्षी दलका नेता शुभेन्दु अधिकारी र उत्तर बंगाल विकास मन्त्री उदयन गुह- दुवैका पिता लामो समयसम्म जनप्रतिनिधि रहिसकेका थिए। उनीहरू स्वयं पनि हाल जनप्रतिनिधि हुन्। यही पृष्ठभूमिमा उदयन गुह र शुभेन्दु अधिकारी विधानसभामै एक–अर्काका बाबुलाई तानेर आपसी द्वन्द्वमा जोडिए।
सो दिन बजेट बहसका क्रममा भाजपा विधायक अशोक लाहिडी भाषण दिइरहेका थिए। ‘भोट अन एकाउन्ट’ माथि बहस चलिरहँदा अशोक लाहिडीको वक्तव्यलाई लिएर सत्तारुढ र विपक्षी पक्षबीच तर्क–वितर्क सुरु भयो। अवस्था यस्तो बन्यो कि सभाध्यक्ष बिमान बन्द्योपाध्यायलाई पटक–पटक हस्तक्षेप गर्नुपर्यो। अशोक लाहिडी बोलिरहेका बेला दिनहाटाका विधायक उदयन गुहले पटक–पटक टिप्पणी गरे। यसपछि लाहिडीले भाषण रोक्दै उदयन गुहतर्फ हेरेर भने, “तपाईं नै बोल्नुहोस्, म हुँ कि होइन?” यससँगै सदन झन् उत्तेजित बन्यो।
यसपछि भाजपा विधायक तथा विपक्षी दलका नेता शुभेन्दु अधिकारीले असंसदीय शब्द प्रयोग गर्दै आक्रमण सुरु गरे। शालीनताको सीमा नाघ्दै उनले उदयनलाई लक्षित गर्दै भने, “यसलाई फेरि पनि हराउँछु। ऊ गुण्डा हो। उसले आफ्नै बाबुलाई चोर भनेको छ।” अशोभनीय शब्द प्रयोग गरिएको आरोप लागेपछि सभाध्यक्षले तुरुन्त हस्तक्षेप गर्दै ती शब्दहरू कार्यवाहीबाट हटाउन (एक्सपञ्ज) आदेश दिए। तबसम्म सत्तारुढ र विपक्षी विधायकहरूबीच नाराबाजी सुरु भइसकेको थियो।
यसैबीच ओडिशा सरकारले कसरी विकास गरिरहेको छ भन्ने उदाहरण दिँदै मन्त्री उदयन गुहले भने, “उहाँहरूले त बंगालीहरूलाई मारिरहेका छन्। केही भन्नुहोस्।” यो सुनेपछि भाजपा बेञ्चबाट हल्ला सुरु भयो। त्यस समयमा शुभेन्दु अधिकारीले उदयनतर्फ लक्षित गर्दै भने, “तपाईं त आफ्नै बाबुलाई चोर भन्नुहुन्छ।” यसपछि तृणमूल कांग्रेसका विधायकहरू आक्रोशित भए। दुवै पक्षबीच हंगामा बढेपछि सभाध्यक्ष बिमान बन्द्योपाध्यायले दुबैलाई शान्त पार्दै पुनः बहस सुरु गर्न आग्रह गरे।
त्यसपछि स्पिकरको अनुमति लिएर उदयन गुहले भने, “मेरा बाबा कमल गुह सात पटक विधायक हुनुहुन्थ्यो। १९ वर्षसम्म मन्त्री रहनुभएको थियो। मैले मेरो बाबाको राजनीतिक कामकारबाहीबारे केही आलोचना गरेको हुन सक्छु। तर शुभेन्दु अधिकारीले प्रमाणित गरेर देखाऊन् कि मैले मेरो बाबालाई चोर भनेको छु।” साथै उनले शुभेन्दु अधिकारीलाई लक्षित गर्दै थपे, “तपाईं शिशिर बाबुको छोरा हुनुहुन्छ, तर आफूलाई मोदीको बेटा भन्नुहुन्छ। आखिर तपाईं कसको छोरा हुनुहुन्छ?”
उदयन गुहको यस टिप्पणीपछि बजेट अधिवेशनमा दुबै पक्ष एक–अर्कातर्फ औँला ठड्याउँदै नाराबाजी गर्न थाले। त्यसपछि स्पिकरले स्पष्ट पारे कि यस विषयमा कसैको पनि वक्तव्य अभिलेखमा राखिने छैन। सभाध्यक्ष बिमान बन्द्योपाध्यायले विधानसभाको मर्यादा र अनुशासन कायम राख्न सबैलाई आग्रह गरे। केही समयपछि स्थिति नियन्त्रणमा आयो। तर दुई राजनीतिज्ञका बाबुलाई लिएर भएको यो तकरार विधानसभामा एक असामान्य र अभूतपूर्व घटनाका रूपमा देखियो।








