ईंग्ल्याण्डलाई १०० रनले पराजित गरी भारत छैटौंपल्ट अण्डर-१९ वर्ल्ड कप च्याम्पियन

IMG-20260206-WA0102

हरारे: भारतले आफ्नो असाधारण प्रदर्शनको क्रम जारी राख्दै आईसीसी अण्डर-१९ क्रिकेट वर्ल्ड कप च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। शुक्रवार खेलिएको फाइनलमा भारतले ईंग्ल्याण्डलाई १०० रनले पराजित गऱ्यो। अण्डर-१९ वर्ल्ड कपमा यो भारतको छैटौं खिताब हो। भारतले यसअघि २०००, २००८, २०१२, २०१८ र २०२२ पनि खिताब जितेको थियो। आयुष म्हात्रेको कप्तानीमा रहने भारतीय टोली पूरा टुर्नामेण्टमा अजेय रह्यो। हरारे स्पोर्ट्स क्लबमा आज टस जितेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ९ विकेट गुमाएर ४११ रनको विशाल स्कोर बनायो। ओपनर वैभव सूर्यवंशीले रेकर्डतोड़ १७५ रनको ईनिंग्स खेले। यस युवा ब्याटरले ८० बलको सामना गरी १५ वटा छक्का र १५ वटा चौका लगाए। यसबाहेक कप्तान म्हात्रेले ५१ बलमा ७ वटा चौका र २ वटा छक्काको साथ ५३ रन बनाए। यी दुई बाहेक अभिज्ञान कुण्डुले ४०, कनिष्क चौहानले अविजित ३७, वेदान्त त्रिवेदीले ३२ र विहान मल्होत्राले ३० रनको योगदान दिए। वैभवले आज विध्वंशी ब्याटिंग गर्दै म्हात्रेसँग दोस्रो विकेटको निम्ति १४२ रन र त्रिवेदीसँग तेस्रो विकेटको निम्ति ८९ रनको पार्टनरशीप गरे। ईंग्ल्याण्डका बलरहरूमा जेम्स मिण्टोले ३ विकेट लिए। विशाल लक्ष्यलाई अघि राखेर ब्याटिंग गर्दै ईंग्ल्याण्डले लगातार अन्तरालमा विकेट गुमायो। पाँचौं नम्बरमा ओर्लिएर सालेब फाल्कोनरले ११५ रन बनाए पनि टीमलाई बचाउन सकेनन्। उनले ६७ बल खेलेर ९ वटा चौका र ७ वटा छक्का लगाए। यसबाहेक ओपनर बेन डकिन्सले ६६ र बेन मायेसले ४५ रनको योगदान दिए। यसरी ईंग्ल्याण्डको टीम ४०.२ ओभरमा ३११ रन बनाएर अलआउट भयो। भारतीय बलरहरूमा आरएस अम्ब्रिसले सर्वाधिक ३ विकेट लिए।

About Author

Advertisement