नयाँ दिल्ली: राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले संसदमा उत्तर–पूर्वी क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयहरू उठाउँदै पूर्वाधार विकास, रेल तथा सडक सम्पर्क र यस क्षेत्रको विशाल पर्यटन सम्भावनामाथि विशेष जोड दिए। स्पष्टता र उद्देश्यका साथ बोल्दै उनले सञ्चालनमा रहेका परियोजनाहरूको प्रगति, केन्द्रीय कोषको उपयोग तथा ती पहलहरूले साधारण नागरिकलाई कसरी प्रत्यक्ष लाभ पुर्याइरहेका छन् भन्ने विषयमा जानकारी मागे साथै, भारतीय नागरिकहरूले विदेशी गन्तव्यको सट्टा उत्तर–पूर्व भारत भ्रमण गर्नु किन आवश्यक छ र सुदृढ सम्पर्क व्यवस्थाले यस क्षेत्रको भविष्य कसरी रूपान्तरण गर्न सक्छ भन्ने कुरा पनि उनले औँल्याए।
प्रधानमन्त्रीको नेतृत्वमा आयोजित ‘राइजिङ नर्थ ईस्ट समिट’ सन्दर्भमा प्रश्न उठाउँदै श्री श्रृंगलाले उक्त सम्मेलनपछि उत्तर–पूर्वी क्षेत्रमा घोषणा गरिएका लगानी कार्यान्वयन गर्न के–कस्ता कदम चालिएका छन् भन्ने विवरण मागे। उत्तरदायित्व र परिणाममा जोड दिँदै उनले सम्मेलनमा गरिएका प्रतिबद्धताहरू रोजगारी सृजना र दिगो विकासमा टेवा पुर्याउने ठोस परियोजनाका रूपमा जमीनमा उतारिनुपर्ने आवश्यकता औँल्याए।
पर्यटनको विषयमा प्रकाश पार्दै श्री श्रृंगलाले उत्तर–पूर्व भारतलाई अपार प्राकृतिक सौन्दर्य, समृद्ध आदिवासी संस्कार तथा इको, सांस्कृतिक र साहसिक पर्यटनका क्षेत्रमा विशाल तर अझै नउपयोग भएको सम्भावनायुक्त क्षेत्रका रूपमा वर्णन गरे। उनले उत्तर–पूर्वका दुर्गम क्षेत्रहरूलाई देशका अन्य भागसँग जोड्ने रेल सम्पर्क अब सम्भव भएको उल्लेख गर्दै यसलाई एकीकरण र अवसरको प्रतीकका रूपमा व्याख्या गरे। यसले बजारलाई नजिक ल्याउने, पर्यटन प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने र राष्ट्रिय एकतालाई मजबुत बनाउने उनको भनाइ थियो। उनले यस्ता सम्पर्क परियोजनाहरू यातायातमा मात्र सीमित नभई व्यापार, पर्यटन र जन–जनबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
संसदमा आफ्नो भनाइ उद्धृत गर्दै श्री श्रृंगलाले भने, “प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर–पूर्व भारतसँग गहिरो र हृदयदेखि नै जोडिएको सम्बन्ध प्रदर्शन गर्नुभएको छ। विगतका छ दशकसम्म लगातार आएका सरकारहरूले यस क्षेत्रको सम्भावनालाई पहिचान गर्न सकेनन्। प्रधानमन्त्रीले भने यस सम्भावनालाई बुझेर त्यसलाई मुक्त गर्नुभयो। उहाँद्वारा उद्घाटन गरिएको हालैको उत्तर–पूर्व लगानीकर्ता सम्मेलनमा लगानीकर्ताहरूले ४.३ लाख करोड रुपैयाँ बराबरको लगानी चासो व्यक्त गरेका छन्।”
समय–समयमा हर्षवर्धन श्रृंगलाले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू संसदमा उठाउँदै भने। चाहे स्वास्थ्य, शिक्षा, सम्पर्क व्यवस्था वा जीविकोपार्जनको प्रश्न होस्- दार्जिलिङ र सम्पूर्ण उत्तर–पूर्वी क्षेत्रका जनताको आवाज उनले निरन्तर देशको सर्वोच्च मञ्चमा पुर्याउँदै आएको छन्। उनका यी प्रयासहरूले केवल राजनीतिक दायित्व मात्र नभई क्षेत्रप्रतिको वास्तविक चिन्ता, संवेदना र प्रतिबद्धता पनि झल्काउँछन्।









