परीछा पे चर्चा: सस्तो इन्टरनेट समय खेर फाल्न होइन, आत्म-विकासका लागि हो: प्रधानमन्त्री मोदी

sanmarg_2026-02-06_yz0k9ucx_06021-pti02062026000054b

नयाँ दिल्ली: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यार्थीहरूलाई सस्तो इन्टरनेट उपलब्ध हुनुको अर्थ समय अनावश्यक रूपमा खेर फाल्नु होइन भनेर सचेत गराएका छन्। उनले अध्ययनलाई बोझ नमान्न र आफ्नो जीवन तथा शैक्षिक क्षमतालाई सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे।
प्रधानमन्त्री मोदीले शुक्रबार आफ्नै निवासमा आयोजित ‘परीक्षा पे चर्चा २०२६’ को नवौँ संस्करणका अवसरमा देशका विभिन्न भागबाट आएका विद्यार्थीहरूसँग संवाद गर्दै यस्तो बताएका हुन्। उनले अधूरो मनले गरिएको पढाइले जीवनमा सफलता नदिलाउने स्पष्ट पारे।
प्रधानमन्त्रीले भने, “हाम्रो लक्ष्य त्यस्तो हुनुपर्छ जुन हाम्रो पहुँचभित्र होस् तर सजिलै प्राप्त नहोस्। पहिले मनलाई नियन्त्रण गर, त्यसपछि पढाइसँग जोड र त्यसपछि विषयहरूमा ध्यान केन्द्रित गर। यसो गरेमा विद्यार्थी अवश्य सफल हुन्छ।”
अनलाइन खेलप्रति सचेत रहन आग्रह:
प्रधानमन्त्री मोदीले अनलाइन खेल (गेमिङ) प्रति विद्यार्थीहरूलाई सावधान रहन सुझाव दिए। उनले केवल मनोरञ्जन वा समय बिताउनका लागि अत्यधिक गेमिङमा लिप्त हुनु हानिकारक हुने बताए।
उनले भने,
“केही मानिसहरू पैसा कमाउने उद्देश्यले गेमिङमा फस्छन्, तर अन्ततः उनीहरूकै क्षति हुन्छ। हामी देशमा जुवा प्रवृत्तिलाई बढावा दिन चाहँदैनौँ। त्यसैले अनलाइन जुवाविरुद्ध कानुन बनाइएको छ।”
तर उनले गेमिङ पूर्ण रूपमा नकारात्मक नभएको पनि स्पष्ट पारे। उनका अनुसार गेमिङ एक सीप हो, जसले सतर्कता र एकाग्रता बढाउन मद्दत गर्छ, यदि यसको सही र सीमित प्रयोग आत्म–विकासका लागि गरियो भने।
आफ्नै पढाइ शैली अपनाउन सुझाव:
प्रधानमन्त्री मोदीले प्रत्येक व्यक्तिको पढ्ने र काम गर्ने शैली फरक–फरक हुने बताए।
उनले भने, “कोही बिहान राम्रो पढ्न सक्छन्, कोही राति। जुन तरिका तपाईंलाई उपयुक्त लाग्छ, त्यसमा विश्वास गर्नुहोस्। सुझाव लिनुहोस्, तर त्यसले फाइदा पुर्‍याउँछ भने मात्र जीवनशैलीमा अपनाउनुहोस्।”
प्रधानमन्त्रीले अन्त्यमा विद्यार्थीहरूलाई पूर्ण लगन, अनुशासन र समर्पणका साथ अध्ययन गर्न आग्रह गर्दै शिक्षा नै सफल जीवनको आधार भएको बताए।

About Author

Advertisement