मस्कट: मध्यपूर्वमा बढ्दो युद्धको खतरा टार्न अमेरिका र इरानका उच्च अधिकारीहरूबीच आज ओमानको राजधानी मस्कटमा निर्णायक वार्ता शुरु भएको छ।
ओमानको मध्यस्थतामा भएको यो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुश्नर र इरानी विदेशमन्त्री अब्बास अराघची सहभागी हुनुहुन्छ। वार्ताको मुख्य एजेन्डा इरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने र इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धलाई खुकुलो बनाउने रहेको छ।
वार्ताको शुरुमा इरानले आफ्नो तेल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग राखेको छ भने अमेरिकाले इरानले हतियार निर्माणमा गरिरहेको लगानी बन्द गर्नुपर्ने अडान लिएको छ।
यसैबीच रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि भएको दोस्रो चरणको वार्तामा युद्धबन्दी साटासाट गर्न सहमत भएका छन् । जसअनुसार दुवै पक्षले १५७–१५७ जना सैनिक एकअर्कालाई हस्तान्तरण गरेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कतिपय सैनिकहरू विगत ४ वर्षदेखि रुसी कब्जामा रहेको र यो साटासाटले हजारौँ परिवारमा खुसी ल्याएको बताएका छन्। यसका साथै, अमेरिका र रुसबीच रोकिएको प्रत्यक्ष सैन्य संवाद पनि आजैदेखि पुनः शुरु गर्ने सहमति भएको छ।
यसले युद्धको मैदानमा हुन सक्ने थप दुर्घटना वा गलत बुझाइलाई कम गर्ने अपेक्षा गरिएको छ। यद्यपि, सीमा विवाद र स्थायी युद्धविरामका विषयमा भने अर्को चरणको वार्ता अमेरिकामा हुने गरी बैठक टुंगिएको छ।










