नयाँ दिल्ली: भारतको सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक कुनै वर्तमान मुख्यमन्त्रीले वकिलको रूपमा बहस गरेका छन्। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी बुधबार बंगाल एसआईआर (स्पेशल इन्टेन्सिभ रिभिजन) सम्बन्धी मुद्दामा सुप्रीम कोर्टमा उपस्थित भई आफैंले दलील प्रस्तुत गरिन्।
सुनुवाइका क्रममा ममता बनर्जीले उक्त मुद्दामा आफूलाई न्याय नपाएको भन्दै लोकतन्त्रको संरक्षण आवश्यक रहेको बताइन्। उनले मतदाता सूचीबाट धेरै नामहरू गलत तरिकाले हटाइएको आरोप लगाइन्। ममताका अनुसार केही छोरीहरू विवाहपछि ससुराली गए पनि उनीहरूको नाम मतदाता सूचीमा समावेश गरिएको छैन।
प्रधान न्यायाधीश (सीजेआई) ले ममता बनर्जीलाई पूरा समय दिँदै सबै समस्याको समाधान निकालिने विश्वास दिलाए। अदालतले भाषा वा नामको हिज्जे फरक परेकै कारण कसैलाई मतदाता सूचीबाट हटाउन नहुने स्पष्ट गर्यो।
ममता बनर्जी सुप्रीम कोर्टमा बहस गर्ने पहिलो वर्तमान मुख्यमन्त्री बनेकी छन्। यसअघि अन्य मुख्यमन्त्रीहरू अदालतमा उपस्थित भए पनि प्रत्यक्ष रूपमा बहस गरेका थिएनन्।










