दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले पश्चिम बंगालका जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी तथा रेलमन्त्री अश्विनी वैष्णवलाई वित्तीय वर्ष २०२६–२७ को बजेटमा पश्चिम बंगालको रेलवे रूपान्तरणलाई प्राथमिकता दिएकोमा हार्दिक आभार व्यक्त गरे। सांसद विष्टले संजालमा उल्लेख गरे कि पश्चिम बंगालका रेल परियोजनाका लागि ₹१४,२०५ करोडको आवंटन वास्तवमै ऐतिहासिक कदम हो।
सांसदले अघि भने, ‘पटना हुँदै सिलिगुडी–वाराणसी बुलेट ट्रेन परियोजनाले उत्तर बंगालको अर्थतन्त्रलाई तीव्र गतिमा अघि बढाउनेछ। यो रेलमार्ग दिल्लीसँग पनि जोडिनेछ र भविष्यमा गुवाहाटी हुँदै उत्तर–पूर्व भारतसम्म विस्तार हुनेछ साथै सिलिगुडी करिडोर हुँदै प्रस्तावित ४० किलोमिटर भूमिगत रेलमार्गले हाम्रो अत्यन्तै महत्वपूर्ण “चिकेन्स नेक” मार्गमार्फत उत्तर–पूर्व भारतसँगको सम्पर्कलाई सुरक्षित बनाउनेछ। यस क्षेत्रका रेलमार्गलाई चार लाइनमा स्तरोन्नति गर्ने योजनाले पनि यस संवेदनशील क्षेत्रमा रेल सम्पर्कलाई ठूलो मजबुती प्रदान गर्नेछ।
यसैगरी सांसदले अझ अघि बताए ‘डुवर्सको बनारहाटदेखि असमको सम्त्से र कोकराझार हुँदै भुटानको गेलेफुसम्म नयाँ रेललाइनको घोषणा गर्नुभएकोमा पनि म आभार व्यक्त गर्दछु। यसले भारत र भुटानबीचको सीमा पार सम्बन्ध र यातायातलाई उल्लेखनीय रूपमा सुदृढ बनाउनेछ।
सांसदले हात्ती तथा वन्यजन्तुको संरक्षणका लागि एआई क्यामेराको प्रयोगको घोषणाले वातावरणप्रतिको संवेदनशीलता झल्काएको र यसले क्षेत्रमा हुने जनावरको दुर्घटनाजन्य मृत्यु रोक्न ठूलो योगदान पुर्याउने कुरो उल्लेख गरे। अन्तमा सांसदले प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वका कारण दार्जिलिङ पहाड, सिलिगुडी, तराई, डुवर्स र सम्पूर्ण उत्तर बंगाल केन्द्र सरकारको विकासात्मक प्राथमिकतामा अग्रपंक्तिमा रहेका छन् भने।










