बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचार मुद्दामा १० वर्ष कैद

3cf627b0-52e8-11ef-bbe8-4939b38c4f8f.jpg

ढाका: बंगलादेशको एक विशेष अदालतले सरकारी आवास परियोजनाअन्तर्गत भू–खण्ड वितरणमा भएको कथित अनियमिततासम्बन्धी दुई फरक भ्रष्टाचार मुद्दामा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई कुल १० वर्ष कैद सजाय सुनाएको छ।
सरकारी समाचार संस्था बीएसएसका अनुसार ढाकास्थित विशेष न्यायाधीश अदालत–४ का न्यायाधीश रबीउल आलमले सोमबार दिउँसो करिब १२:३० बजे फैसला सुनाउँदै ७८ वर्षीया हसिनालाई प्रत्येक मुद्दामा पाँच–पाँच वर्ष कैद सजाय तोकेका हुन्।
अदालतले शेख हसिनासँगै उनका आफन्त रदवान मुजीब सिद्दीक, ट्युलिप रिजवाना सिद्दीक र अजमिना सिद्दीकसहित अन्य अभियुक्तलाई राजुक न्यू टाउन परियोजनाअन्तर्गत भू–खण्ड वितरणमा अनियमितता गरेको अभियोगमा दोषी ठहर गरेको छ।
फैसलाअनुसार ट्युलिप सिद्दीकलाई प्रत्येक मुद्दामा दुई–दुई वर्ष गरी कुल चार वर्ष कैद सजाय दिइएको छ। रदवान मुजीब सिद्दीक र अजमिना सिद्दीकलाई भने दुवै मुद्दामा सात–सात वर्ष कैद सजाय सुनाइएको छ।
अदालतमा आत्मसमर्पण गरेका एकमात्र अभियुक्त मोहम्मद खुर्शीद आलमलाई प्रत्येक मुद्दामा एक–एक वर्ष गरी कुल दुई वर्ष कैद सजाय तोकिएको छ। साथै, सबै दोषीमाथि एक–एक लाख टका जरिवाना लगाइएको छ। जरिवाना नतिरेमा थप छ महिनाको कैद सजाय भोग्नुपर्ने आदेश पनि अदालतले दिएको छ।
गत वर्ष अगस्ट ५ मा व्यापक जनप्रदर्शनपछि शेख हसिना बंगलादेश छाडेर भारत गएकी थिइन्। यसअघि उनलाई अदालतले फरार अभियुक्त घोषणा गरिसकेको थियो।
भ्रष्टाचार निवारण आयोग (एसीसी) का अनुसार राजधानी विकास प्राधिकरण (राजुक) को आवास परियोजनामा भू–खण्ड वितरण प्रक्रियामा नियमविपरीत हेरफेर गरिएको थियो।

About Author

Advertisement