लरेन्सभिल: अमेरिकाको अटलान्टा सहरको उपनगर क्षेत्रमा रहेको एक होटलमा आइतबार पुलिसमाथि भएको गोलीकाण्डमा एक पुलिस जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
ग्विनेट काउन्टी पुलिस प्रमुख जेडी म्याक्लुरले पत्रकार सम्मेलनमा जानकारी दिँदै गोलीकाण्डका संदिग्धलाई पनि एक पुलिस अधिकारीले गोली प्रहार गरेको र हाल उनको उपचार भइरहेको बताए। अटलान्टाबाट करिब ४० किलोमिटर उत्तर–पूर्वतर्फ स्टोन माउन्टेन नजिकै आइतबार बिहान उक्त घटना भएको हो।
प्रहरी प्रमुखका अनुसार होटलमा कोठा लिन एक व्यक्तिले धोखाधडी वा जालसाजी गरिरहेको आशयको फोन आएपछि पुलिस टोलीलाई त्यहाँ पठाइएको थियो। संदिग्धले स्वयं प्रहरीलाई आफ्नो कोठाभित्र प्रवेश गर्न दिएको थियो।
म्याक्लुरले भने, “पुलिस अधिकारीहरूले उनीसँग घटनाबारे छलफल सुरु गरेका थिए। तर केही समयपछि संदिग्धले अचानक बन्दुक निकाल्दै कुनै उक्साहटबिना हाम्रा ग्विनेट काउन्टी पुलिस अधिकारीमाथि गोली चलायो।”
गोलीकाण्डमा घाइते भएका प्रहरी अधिकारी प्रदीप तामाङ (२५) को अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुलिसले जनाएको छ। नेपाल मूलका तामाङ गत वर्ष मात्रै ग्विनेट काउन्टी पुलिस विभागमा भर्ती भएका थिए। अर्का घाइते प्रहरी अधिकारी डेविड रिडलाई आइतबार दिउँसो गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ।
पुलिसले गोलीकाण्डका संदिग्धको पहिचान केभिन एन्ड्र्युज (३५) का रूपमा गरेको छ।











