बलुचिस्तानमा आतंकवादविरोधी कारबाहीः १५ पाकिस्तानी सैनिकको मृत्यु, ९२ आतंककारी मारिए

_1742113314

इस्लामाबाद: पाकिस्तानको सेनाले अशान्त बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका आतंकवादविरोधी कारबाहीमा कम्तीमा १५ सैनिकको मृत्यु भएको र ९२ आतंककारी मारिएको जनाएको छ।
सेनाका अनुसार शनिबार जातीय बलुच समूहसँग सम्बन्धित आतंककारीहरूले विभिन्न स्थानमा आक्रमण गरेपछि सुरक्षा कारबाही सुरु गरिएको हो। क्वेटा, मस्तुङ, नुश्की, दल्बन्दिन, खरान, पंजगुर, तुम्प, ग्वादर र पसनी आसपासका क्षेत्रमा आतंककारी गतिविधि गरी शान्ति भंग गर्ने प्रयास गरिएको थियो।
सेनाको विज्ञप्तिमा भनिएको छ कि सुरक्षा निकाय र कानुन कार्यान्वयन संस्थाहरूले उच्च सतर्कताका साथ तुरुन्तै प्रतिक्रिया जनाउँदै ती प्रयासहरू विफल पारे। ‘‘लामो, भीषण र साहसिक कारबाहीका क्रममा तीन आत्मघाती आक्रमणकारीसहित ९२ आतंककारी मारिएका छन्,’’ विज्ञप्तिमा उल्लेख छ।
आतंककारी आक्रमणमा महिला, बालबालिका, वृद्ध र मजदुरसहित १८ सर्वसाधारणको पनि मृत्यु भएको सेनाले जनाएको छ। कारबाही र त्यसपछिका मुठभेडमा १५ सैनिकले ज्यान गुमाएका छन्।
यसअघि शनिबार नै पंजगुर र हरनाई जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा प्रतिबन्धित संगठन तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) सँग सम्बन्धित ४१ आतंककारी मारिएका थिए।
सेनाका अनुसार पछिल्ला दुई दिनमा बलुचिस्तानमा मारिएका आतंककारीको कुल संख्या १३३ पुगेको छ।

About Author

Advertisement