काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई फेरि सैन्य कारबाहीको चेतावनी दिएका छन्। सैन्य टकराव टार्न इरानले दुई सर्त पूरा गर्नुपर्ने उनको भनाइ छ।
खाडी क्षेत्रमा अमेरिकाले आफ्नो सैन्य उपस्थिति बढाइरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। उनले भने, ‘पहिलो कुरा, इरानसँग कुनै पनि हालतमा परमाणु हतियार हुनु हुँदैन। दोस्रो, प्रदर्शनकारीहरूको हत्या तुरुन्त बन्द हुनुपर्छ।’
ट्रम्पले इरानमा ‘हजारौँ मानिस मारिएको’ आरोप पनि लगाएका छन्। उनले भने, ‘यस समयमा धेरै ठूला र शक्तिशाली अमेरिकी युद्धपोतहरू इरानतर्फ अघि बढिरहेका छन्। राम्रो यही हुन्छ कि तिनको प्रयोग गर्न नपरोस्।’
यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराग्चीले देशका सशस्त्र सेनाहरू पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएका छन्। उनले भने, ‘कुनै पनि आक्रमण भएमा इरान तुरुन्तै र पूर्ण शक्तिका साथ जवाफ दिन तयार छ।’ इरानी सेनाका औँलाहरू ट्रिगरमै रहेको उनको भनाइ छ।









