संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग

KP Oli 1

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गरेका छन्।

एमाले ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संवैधानिक सङ्कटमा देश फसेको बेलामा मौन बस्दा अदालतको औचित्यमाथि नै प्रश्न उठ्ने भन्दै संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गरेका हुन्।

आफूहरूले संसद् विघटन गरेर संविधान मिचिएको भनिरहेको अवस्थामा सर्वोच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न नमिल्ने उनले बताए। संसद् पुनर्स्थापनाको मुद्दाबारे अदालतले जस्तो आदेश गरे पनि त्यसलाई स्वीकार गरिने उनले स्पष्ट पारे।

त्यस्तै अध्यक्ष ओलीले सरकार तटस्थ रहेर भयरहित वातावरणमा, शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने बताए। कसैलाई जिताउने वा हराउने खेलमा सरकार लागे त्यस्तो निर्वाचन र परिणाम स्वीकार्य नहुने उनको भनाइ थियो।

सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने उनले चेतावनी दिए। फागुन २१ गते निर्वाचनको मिति तय गरिए पनि हिमाली भेगमा निर्वाचन गराउन कठिन रहेको उनले बताए । फरक प्रसंगमा अध्यक्ष ओलीले झापा–५ मा आफुसंग प्रतिष्पर्धा गर्ने भनेर लागेकाहरुसंग कुनै सङ्गठन, नीति कार्यक्रम, उद्देश्य केही नभएको तर्क गरे।

आफ्ना प्रतिस्पर्धीलाई बतासे अन्डाको संज्ञा दिँदै ओलीले बतासे अन्डाबाट चल्ला ननिस्कने टिप्पणी गरे। ओलीले उनीहरूले नै आगजनी र तोडफोडलाई क्रान्ति भनेर महिमा मण्डन गरेको र पुराना दलहरूलाई विभिन्न आरोप लगाउने गरेको बताए। देश बनाउने शक्ति एमाले मात्रै रहेको र यसपटकको निर्वाचनमा जनताले आफूहरूलाई सफल बनाउने पनि उनले जिकिर गरे।

About Author

Advertisement