लन्डन: लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो, यी दुई महान् खेलाडीका नामले नै आधुनिक फुटबलको एउटा युग परिभाषित गर्छ। नयाँ पुस्ताका प्रतिभाहरू आज पनि यिनै मापदण्डका आधारमा मूल्याङ्कन गरिन्छन्। यही सन्दर्भमा आर्सेनलका मुख्य प्रशिक्षक मिकेल आर्तेताले १६ वर्षीय एक किशोर फुटबलरमा बाल्यकालीन लियोनल मेस्सीको झलक देखिएको टिप्पणी गरेका छन्।
प्रिमियर लिगअन्तर्गत लिड्स युनाइटेडविरुद्धको खेलअघि आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा आर्सेनल एकेडेमीका प्रतिभाशाली खेलाडी म्याक्स डाउमनबारे प्रश्न गरिँदा स्पेनी प्रशिक्षक आर्तेताले खुला रूपमा उनको प्रशंसा गरे। आर्तेताले भने, “निस्सन्देह ऊ मैले देखेका उत्कृष्ट एकेडेमी खेलाडीहरूमध्ये एक हो। हामीसँग, विशेष गरी मसँग, उसले जे देखाएको छ, त्यस्तो मैले पहिले कहिल्यै देखेको छैन। केवल एकपटक बार्सिलोनामा खेल्ने एउटा खेलाडीमा यस्तै केही देखेको थिएँ, तर सम्भवतः त्यो पनि यति प्रभावशाली थिएन।” उनका यी भनाइहरूले मेसीका प्रारम्भिक दिनहरूको स्पष्ट संकेत गरेका छन्।
आर्सेनल प्रशिक्षकले उक्त किशोर मिडफिल्डरको मानसिक दृढताको समेत उच्च प्रशंसा गरे। उनका अनुसार, “उसमा विशेष प्रकारको करिश्मा र व्यक्तित्व छ। स्टेडियम, परिस्थिति वा प्रतिद्वन्द्वी—कुनै कुराले पनि उसलाई दबाबमा पार्न सक्दैन। यो निकै दुर्लभ गुण हो। हामीबीचको संवाद अत्यन्त सकारात्मक भएको छ। अब यो उसको र हाम्रो साझा यात्रा हो, जसबाट हामी मिलेर एक असाधारण करियर निर्माण गर्नेछौँ।”
यसअघि पनि म्याक्स डाउमनले सबैको ध्यान तानेका थिए। केवल १५ वर्ष २३५ दिनको उमेरमा उनले एमिरेट्स स्टेडियममा लिड्स युनाइटेडविरुद्ध ५–० को जितमा सिनियर टोलीबाट पदार्पण गरेका थिए। त्यो क्षण सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको थियो।









