नयाँ दिल्ली: आर्थिक सर्वेक्षण प्रस्तुत हुनुअघि संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले देशको ध्यान यस समय केन्द्रीय बजेटमा केन्द्रित हुनु स्वाभाविक भएको बताएका छन्। बजेटले देशको आर्थिक दिशा र विकासका प्राथमिकता तय गर्ने भए पनि सरकारको पहिचान बजेटमा मात्र सीमित नरहेको उनको भनाइ थियो।
प्रधानमन्त्री मोदीले विगतका वर्षहरूमा ‘रिफर्म, परफर्म र ट्रान्सफर्म’ नीतिमार्फत सरकारले विकासलाई नयाँ गति दिएको उल्लेख गरे। भारत अहिले सुधारहरूको ‘रिफर्म एक्सप्रेस’ मा सवार भएर तीव्र गतिमा अघि बढिरहेको बताउँदै उनले यो यात्रा सरकारको मात्र नभई संसदका सबै सदस्यहरूको सकारात्मक सहयोगको परिणाम भएको बताए।
सांसदहरूको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले सामूहिक ऊर्जा र सहकार्यका कारण देश पुराना समस्याको घेराबाट बाहिर निस्कँदै दिगो र दीर्घकालीन समाधानतर्फ अघि बढिरहेको बताए।
प्रधानमन्त्री मोदीले भारत र युरोपेली संघबीच सम्पन्न मुक्त व्यापार सम्झौता (एफटीए) लाई आत्मनिर्भर र प्रतिस्पर्धी भारततर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे। यो सम्झौताले देशको उज्ज्वल भविष्य र भारतीय युवाहरूका लागि नयाँ अवसरका ढोका खोल्ने विश्वास उनले व्यक्त गरे। एफटीएले आत्मविश्वासी, उत्पादक र प्रतिस्पर्धी भारत निर्माणमा अहम भूमिका खेल्ने उनको भनाइ थियो।
उनले हालको त्रैमासिकको सुरुआत अत्यन्त सकारात्मक रहेको उल्लेख गर्दै भारत आज विश्वमञ्चमा आशाको किरणका रूपमा उदाएको बताए। प्रधानमन्त्रीले यस एफटीएलाई महत्वाकांक्षी भारतका लागि मुक्त व्यापार, आकांक्षी युवाका लागि मुक्त व्यापार र आत्मनिर्भर भारतका लागि मुक्त व्यापारको संज्ञा दिए। साथै, भारतीय उत्पादकहरूलाई यस अवसरको पूर्ण लाभ उठाउन आग्रह गरे।
देशको दीर्घकालीन विकास लक्ष्यबारे बोल्दै प्रधानमन्त्रीले २१औँ शताब्दीको पहिलो चौथाइ अवधि पूरा भइसकेको र अब नयाँ चरणको सुरुआत भएको बताए। विकसित भारत–२०४७ को लक्ष्य हासिल गर्न आगामी २५ वर्ष निर्णायक हुने उल्लेख गर्दै उनले यस नयाँ चरणको पहिलो बजेट छिट्टै संसदमा प्रस्तुत हुने जानकारी दिए।
यस अवसरमा प्रधानमन्त्री मोदीले वित्त मन्त्री निर्मला सीतारमणको भूमिकाको पनि चर्चा गरे। उनले निर्मला सीतारमण लगातार नवौँ पटक बजेट प्रस्तुत गर्ने देशकी पहिलो महिला वित्त मन्त्री बन्न लागेको बताउँदै यसलाई संसदीय इतिहासको गौरवपूर्ण क्षणको रूपमा उल्लेख गरे।
प्रधानमन्त्रीले राष्ट्रपति अभिभाषणको सन्दर्भ उठाउँदै यो १४० करोड भारतीयको विश्वास, क्षमता र आकांक्षाको अभिव्यक्ति भएको बताए। विशेषगरी युवाहरूका आशा र अपेक्षालाई यसले प्रतिबिम्बित गर्ने उनको भनाइ थियो। राष्ट्रपति द्वारा संसद सदस्यहरूलाई दिइएको सन्देशलाई सबै सांसदहरूले गम्भीरतापूर्वक आत्मसात गर्ने विश्वाससमेत उनले व्यक्त गरे।










