नयाँ दिल्ली: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले अमेरिकाका ब्याटर आरोन जोन्सलाई बारबाडोसमा आयोजित बीआईएम१० लीग २०२३-२४-को अवधि कथित म्याच फिक्सिंगको आरोपमा अस्थायी रूपले निलम्बित गरेको छ। जोन्समाथि क्रिकेट वेष्ट इण्डिज र आईसीसीको एण्टी करप्शन कोडअन्तर्गत ५ वटा आरोप लगाइएको छ। यसमा म्याचको परिणाम या खेलको अन्य कुनै पक्षलाई गलत तरिकाले प्रभावित गर्ने कोशिश, भ्रष्ट गतिविधिहरूसँग सम्बन्धित प्रस्तावको जानकारी नदिनु अनि जाँचमा सहयोग नगर्नु सामेल छ। यी आरोपहरू मुख्य रूपले बीआईएम१० टुर्नामेण्टसँग सम्बन्धित छ, जुन क्रिकेट वेष्ट इण्डिजको अधिकार क्षेत्रमा आउँछ जबकि अन्य दुईवटा आरोप अन्तर्राष्ट्रिय म्याचहरूसँग सम्बन्धित छ अनि त्यो आईसीसीको एण्टी करप्शन कोडअन्तर्गत आउने आईसीसीले आफ्नो बयानमा जनाएको छ। यी समस्त गम्भीर आरोपहरूले गगर्दा आरोन जोन्सलाई तत्काल प्रभावको साथ सबै थरीको क्रिकेट गतिविधिहरूबाट निलम्बित गरिएको छ। उनले २८ जनवरी २०२६-देखि १४ दिन भित्र यी आरोपहरूको जवाफ दिनु पर्नेछ। आईसीसीले यो मामिला एउटा व्यापक जाँचको हिस्सा रहेको अनि आउँदो समयमा यस मामिलासँग सम्बन्धित अन्य व्यक्तिहरूविरुद्ध पनि आरोप लाग्न सक्ने जनाएको छ। न्यूयोर्कमा जन्मिएका ३१ वर्षीय जोन्स त्यस अमेरिकी टीमको हिस्सा थिए जसले २०२४ टी२० वर्ल्ड कपमा आफ्नो पहिलो प्रयासमै सुपर ८ चरणमा स्थान बनाएको थियो। जोन्सले अहिलेसम्म अमेरिकाको निम्ति ५२ वटा वनडे र ४८ वटा टी२० इण्टरनेशनल म्याच खेलिसकेका छन्। उनले अन्तिमपल्ट अप्रेल २०२५-मा राष्ट्रिय टीमको निम्ति म्याच खेलेका थिए।










