पुणे: भारतका केन्द्रीय नागरिक उड्डयन मन्त्री के. राममोहन नायडूले बुधबार प्रारम्भिक जानकारी अनुसार महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार चार्टर्ड विमान दुर्घटनाग्रस्त हुँदा बारामती विमानस्थलमा दृश्यता निकै कम रहेको बताएका छन्।
बुधबार बिहान बारामती विमानस्थलमा भएको दुर्घटनामा अजित पवार, चालक दलका दुई सदस्यसहित पाँच जनाको मृत्यु भएको छ। विमानमा सवार सबैको घटनास्थलमै ज्यान गएको हो।
मन्त्री नायडूका अनुसार नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) र विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) का टोलीहरू घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्। पहिलो पटक अवतरणको प्रयास गर्दा हवाई यातायात नियन्त्रण (एटीसी) ले रनवे देखिएको छ कि छैन भनी सोध्दा पाइलटले ‘देखिएको छैन’ भनेपछि विमानले आकाशमै एक फन्को लगाएको थियो।
दोस्रो पटक अवतरणको प्रयासका क्रममा पाइलटले रनवे देखिएको पुष्टि गरेपछि एटीसीले अवतरणको अनुमति दिएको थियो। अनुमति पाएलगत्तै विमान दुर्घटनाग्रस्त भएको नायडूले जानकारी दिए।
नायडू र नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोल अजित पवारको अन्त्येष्टिमा सहभागी हुन दिल्लीबाट पुणेतर्फ प्रस्थान गरिसकेका छन्। मन्त्री नायडूले दुर्घटनाको अनुसन्धान पारदर्शी रूपमा गरिने र सबै पक्षको गहिरो समीक्षा भइरहेको बताए।









