प्लेब्याकबाट विदाई लिँदै अरिजीत

hqdefault

मुंबई: भारतका चर्चित गायक अरिजीत सिंहले प्लेब्याक गायन छाड्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अब चलचित्रका लागि गीत नगाउने बताए पनि संगीतसँगको सम्बन्ध भने निरन्तर रहने स्पष्ट पारेका छन्।
अरिजीतको यो निर्णय पछाडि सिर्जनात्मक स्वतन्त्रता र फिल्म निर्माणप्रतिको झुकाव मुख्य कारण रहेको उनका नजिकका व्यक्तिहरूले बताएका छन्। लामो समयदेखि उनी फिल्म निर्देशनमा सक्रिय हुन चाहन्थे, जसका लागि अब उनले गायनबाट दूरी बनाएका हुन्।
फिल्म निर्देशक अनुराग बसुका अनुसार अरिजीतको यो निर्णय अप्रत्याशित होइन। उनी बहुप्रतिभाशाली कलाकार हुन् र गायनबाहेक जीवनमा अन्य सिर्जनात्मक काम गर्न चाहन्थे।
बीबीसीका अनुसार अरिजीत सिंहले आफ्नो पहिलो हिन्दी फिल्म निर्देशनको तयारी सुरु गरिसकेका छन्। जंगल एड्भेन्चर जनराको उक्त फिल्ममा नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा देखिनेछन्। फिल्मको छायांकन पश्चिम बंगालको शान्तिनिकेतन क्षेत्रमा भइरहेको छ। फिल्मको कथा अरिजीत र उनकी पत्नी कोयल सिंहले संयुक्त रूपमा लेखेका हुन्।
अरिजीत मुम्बईमा भन्दा पश्चिम बंगालको मुर्शिदाबादमा बढी समय बिताउँछन्। त्यहीं आफ्नै घरमा उनले रेकर्डिङ स्टुडियो स्थापना गरेका छन् र त्यहीँबाट संगीत तथा फिल्म निर्माणका काम सम्हाल्दै आएका छन्।
सन् २००५ मा फेम गुरुकुल रियालिटी शोबाट करियर सुरु गरेका अरिजीतले २०११ मा मर्डर २ को गीत ‘फिर मोहब्बत’ मार्फत पहिचान बनाए। आशिकी २ को ‘तुम ही हो’ ले उनलाई शीर्ष गायकको सूचीमा पुर्‍यायो।
दुई पटक राष्ट्रिय पुरस्कार, आठ पटक फिल्मफेयर र सन् २०२५ मा पद्मश्री पाएका अरिजीत सिंह अब प्लेब्याक गायनबाट अलग भए पनि संगीत र सिर्जनात्मक यात्रामा सक्रिय रहने बताएका छन्।

About Author

Advertisement