काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आत्मसमिक्षासहित बृहत कम्युनिष्ट एकतामा सामेल हुन विप्लवलाई आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरूलाई नेकपामा समायोजन गराउँदै प्रचण्डले कम्युनिष्ट एकतामा सामेल नभए पछिसम्म पश्चाताप हुने भन्दै आत्मसमिक्षासहित बृहत एकतामा सामेल हुन विप्लवलाई आग्रह गरेका हुन् ।
उनले समाजवादी मोर्चामा हुँदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेनजी आन्दोलनपछि विप्लवको नेतृत्व बैचारिक अन्यौलको भूमरीमा हराएको तर्क गरे।
कुनै आवेगमा नभइ राष्ट्रको असाधारण परिस्थीतिमा कम्युनिष्ट आन्दोलनका घटकलाई एकता गरेर शक्ति आर्जनको प्रयास गरेको भन्दै प्रचण्डले अहिले विप्लवले उक्त मौका गुमाएको धारणा राखे । अझै पनि विप्लवप्रति आफूहरूको कुनै आक्रोश नभएको र आत्मसमिक्षासहित आए स्वागत गर्न तयार रहेको उनको भनाइ छ ।
प्रचण्डले अहिले देश असहज परिस्थितिमा रहेकाले एकताबद्ध भएर देशव्यापी अभियानमा जान नसके देश अर्को दुर्घटनामा जान सक्ने भएकाले एकतामा जोड दिइएको बताए। त्यस्तैगरी उनले अन्य कम्युनिष्ट घटकहरूलाई समेत एकतामा सामेल हुन आह्वान गरे।
विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य एवम विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाललगायतका नेताहरू नेकपामा प्रवेश गरेका छन्।









