कोलकाता: कोलकातासहित दक्षिण बंगालमा तापक्रम क्रमशः बढ्न थालेको छ। बिहानको चर्को घामले जाडोको प्रभाव कम हुँदै गएको संकेत दिएको मौसम विभागले जनाएको छ। हाल जाडोको अनुभूति बिहान र बेलुकामा मात्र सीमित भएको छ।
मंगलबार कोलकाताको न्यूनतम तापक्रम १६.१ डिग्री सेल्सियस दर्ता गरिएको छ भने सोमबार न्यूनतम १५.६ र अधिकतम २६.६ डिग्री सेल्सियस रहेको थियो। हावामा आद्रता बढी भएकाले दिन चढ्दै जाँदा हल्का पसिना आउने अवस्था देखिएको छ।
मौसम विभागका अनुसार आगामी एक हप्तासम्म दक्षिण बंगालका जिल्लाहरूमा तापक्रम लगभग स्थिर रहनेछ। यससँगै कुहिरोको प्रभाव पनि क्रमशः घट्दै जाने सम्भावना छ।
यसैबीच उत्तर बंगालका पहाडी क्षेत्रमा मौसम रमाइलो बन्दै गएको छ। सक्रिय दुई पश्चिमी विक्षोभका कारण सप्ताहको अन्त्यसम्म दार्जीलिङका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ। कालेबुङ, जलपाईगुडी र अलिपुरद्वार जिल्लामा कतै–कतै हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ।
पूर्वानुमानअनुसार उत्तर बंगालका हिमाली क्षेत्रमा तापक्रम ३–४ डिग्री सेल्सियसबीच रहनेछ भने मैदानी क्षेत्रमा न्यूनतम तापक्रम करिब १५ डिग्री सेल्सियस रहने सम्भावना छ।










