नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा पाइला टेक्ने पहिलो भारतीय बनेका ग्रुप क्याप्टेन शुभांशु शुक्लालाई सोमबार भारतको सर्वोच्च शान्तिकालीन वीरता पुरस्कार अशोक चक्र प्रदान गरिन्।
कर्तव्य पथमा आयोजित गणतन्त्र दिवस समारोहका क्रममा राष्ट्रपति मुर्मूले उनलाई उक्त सम्मान अर्पण गरिन्। शुक्लाले गत वर्ष जुनमा ऐतिहासिक एक्सिओम–४ मिशन अन्तर्गत आईएसएस यात्रा गर्दै नयाँ इतिहास रचेका थिए। उनी अन्तरिक्षमा जाने दोस्रो भारतीय हुन्। यसअघि सन् १९८४ मा राकेश शर्माले सोयुज मिशनमार्फत अन्तरिक्ष यात्रा गरेका थिए।
१८ दिनको अन्तरिक्ष यात्राका क्रममा शुक्लाले मिशनको पाइलटको भूमिका निर्वाह गर्दै मानव अन्तरिक्ष अन्वेषणमा भारतको उल्लेखनीय प्रगति विश्वमञ्चमा प्रस्तुत गरे। मिशनका क्रममा जटिल वैज्ञानिक प्रयोगलगायत उनका योगदानलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष विज्ञहरूले उच्च मूल्यांकन गरेका छन्।
भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुक्लासँग सु–३० एमकेआई, मिग–२१, मिग–२९, जगुआर, हक, डोर्नियर र एएन–३२ विमानमा २,००० घण्टाभन्दा बढी उडान अनुभव रहेको छ। उत्तर प्रदेशको लखनऊ निवासी शुक्ला सन् २००६ जुनमा वायुसेनाको लडाकु शाखामा प्रवेश गरेका थिए।
अमेरिकास्थित निजी कम्पनी एक्सिओम स्पेसद्वारा सञ्चालन गरिएको एक्सिओम–४ मिशनमा नासा, युरोपेली अन्तरिक्ष एजेन्सी र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) सहभागी थिए।











