पाकिम: भारतको संविधान लागू भएको ऐतिहासिक स्मृतिलाई आत्मसात् गर्दै तथा स्वतन्त्रता सेनानीहरूको अतुलनीय योगदानलाई सम्मान गर्न पाकिम जिल्लाका विभिन्न महकुमा कार्यालयहरूमा ७७औँ गणतन्त्र दिवस हर्षोल्लास र गरिमाका साथ मनाइएको छ।
पाकिम महकुमा अन्तर्गत जिल्ला प्रशासनिक केन्द्रमा आयोजित मुख्य समारोहमा शिक्षा, खेलकुद तथा युवा मामिला तथा कानून एवं संसदीय मामिला विभागका मन्त्री राजु बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले संविधानले प्रत्याभूत गरेका मूल्य, समानता र लोकतान्त्रिक अभ्यासलाई व्यवहारमा उतार्न सबैलाई आह्वान गरे।
यस्तै, रम्फू महकुमा कार्यालयमा आयोजित गणतन्त्र दिवस समारोहमा भूमि राजस्व तथा आपदा व्यवस्थापन विभागका सल्लाहकार एवं विधायक एलबी दासको प्रमुख उपस्थिति रहेको थियो।
रङ्गेली महकुमा कार्यालयमा सम्पन्न महकुमा स्तरीय ७७औँ गणतन्त्र दिवस समारोहमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागकी सल्लाहकार एवं विधायक पामिन लेप्चा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा जिल्लाभरिका विभिन्न विभागमा कार्यरत कर्मचारीहरूलाई उत्कृष्ट सेवा पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमका अवसरमा एनडीआरएफ तथा एसएसबीद्वारा प्रयोग गरिने सुरक्षा बलका विभिन्न हतियारहरूको प्रदर्शनी पनि राखिएको थियो, जसले आम सर्वसाधारणको विशेष ध्यान आकर्षित गरेको थियो।









