६८औँ राष्ट्रिय चलचित्र पुरस्कार एवं दादा साहेब फाल्के पुरस्कार-२०२० समारोह सम्पन्न

00-unnamed-1-1

 

नयाँ दिल्ली: भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले शुक्रबार नयाँ दिल्लीमा आयोजित समारोहको ६८औँ संस्करणमा विभिन्न विधामा सन् २०२० को लागि राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिन्। सो अवसरमा प्रतिष्ठित दादा साहेब फाल्के अवार्ड पनि प्रदान गरियो। कार्यक्रममा केन्द्रीय सूचना तथा प्रसारण मन्त्री (आई एण्ड बी) अनुराग सिंह ठाकुर, केन्द्रीय सूचना तथा प्रसारण राज्य मन्त्री डा. एल. मुरुगन, सचिव आई एण्ड बी मन्त्रालय अपूर्व चन्द्र, जूरीका अध्यक्षहरू र अन्य प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए।

कार्यक्रममा बोल्दै राष्ट्रपतिले दादासाहेब फाल्के अवार्डद्वारा सम्मानित आशा पारेखलाई चलचित्र जगतमा विशेष योगदान पुर्याएको बताउँदै महिला सशक्तिकरणको सम्मान भएको बताइन्। सबै कला विधामा चलचित्रले सबैभन्दा बढी प्रभाव पारेको बताउँदै राष्ट्रपतिले भनिन्, ‘चलचित्र उद्योग मात्र नभएर हाम्रो मूल्य प्रणालीको कलात्मक अभिव्यक्तिको माध्यम हो। चलचित्र राष्ट्र निर्माणको प्रभावकारी माध्यम पनि होl’ राष्ट्रपति द्रौपदी मुर्मुले भनिन्, ‘राष्ट्रले आजादीको अमृत महोत्सव मनाइरहँदा ज्ञात र अपरिचित स्वतन्त्रता सेनानीहरूको जीवनीसँग सम्बन्धित फिचर र गैर फिचर फिल्मलाई भारतीय दर्शकले स्वागत गर्नेछ। समाजमा एकता बढाउने, राष्ट्रको विकासको गतिलाई तिव्रता दिने र वातावरण संरक्षणको प्रयासलाई बलियो बनाउने यस्ता चलचित्र निर्माण होस् भन्ने दर्शकको चाहना छl’

विदेशमा भारतीय संगीतले पाएको मान्यतालाई प्रकाश पार्दै राष्ट्रपतिले भारतको सफ्ट-पावरलाई विश्वभर फैलाउने ठूलो माध्यम भएको बताइन्। यस वर्षको जुलाईमा उज्वेकिस्तानमा सांघाई सहयोग संगठनका सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठक सम्पन्न भएको समापन समारोहमा विदेशी ब्यान्डले सन् १९६० को दशकको हिन्दी फिल्मको लोकप्रिय गीत प्रस्तुत गरेको उनले बताइन्। यस सफ्ट पावरको थप प्रभावकारी उपयोग गर्नका लागि हामीले हाम्रा चलचित्रको गुणस्तर बढाउनुपर्ने कुरा उनले गरिन्। ‘अहिले हाम्रो देशमा एउटा क्षेत्रमा बनेका चलचित्र अन्य क्षेत्रमा पनि निकै लोकप्रिय बन्दै गएका छन्। यसरी भारतीय सिनेमाले सबै देशवासीलाई सांस्कृतिक धागोमा बाँधेको छ। यस फिल्म समुदायको भारतीय समाजमा ठूलो योगदान छ’, उनले भनिन्।

उक्त अवसरमा बोल्दै मन्त्री अनुराग ठाकुरले भने, ‘हामीलाई जीवित र मानव महसुस गराउने जादू, चमत्कार र पागलपनलाई प्रतिबिम्बित गर्ने चित्रमा सिनेमा भनेको कविता हो भन्ने आफ्नो दृढ विश्वास रहेको छ। सिनेमाले हाम्रो देशको विवेक, समुदाय र संस्कृतिलाई समेटेको छl’ ‘भारतीय फिल्म उद्योगका नवोदित कलाकारहरू पेशेवरहरू र दिग्गजहरूले एक शताब्दीभन्दा बढी समयदेखि हाम्रो हृदय र दिमागलाई छोएका छन्’, उनले थपे। कोभिड–१९ महामारीको बेला ओटीटी प्लेटफर्मले खेलेको भूमिकाबारे बोल्दै उनले ओटीटीको आगमनसँगै आज सिनेमा थिएटरको सिमाना नाघेर घरघर र मोबाइल फोनसम्मको सुविधा पुगेको बताए। मन्त्री अनुराग ठाकुरले महामारीको समयमा भारतका फिल्म स्टारहरूलाई उनीहरूको योगदानको श्रेय दिँदै भने, ‘कोभिडको डरलाग्दो वास्तविकता र नाजुक विश्वव्यापी समष्टि आर्थिक अवस्थाको बीचमा, तपाईंले प्रदान गर्नुभएको मनोरञ्जन र सन्देश हाम्रो आशाको एक मात्र किरण होl’

उनले पाँच वर्षमा दोस्रो पटक सबैभन्दा चलचित्र मैत्री राज्य पुरस्कार जितेकोमा मध्य प्रदेश सरकारको प्रशंसा गरे। उनले पुरस्कार विजेताहरूलाई ७५ वटा क्रिएटिभ माइन्ड अफ टुमोरो मार्फत छनोट भई रहेको चलचित्र जादुका भावी सृष्टिकर्ताहरूलाई मार्गदर्शन गर्न आमन्त्रित गर्दै युवाहरूलाई उत्प्रेरित र मार्गदर्शन गर्ने यो अनौठो पहललाई पुरस्कार विजेताहरूको आउँदो पुस्तालाई आकार दिने बताए। भारत भाषिक विविधताको देश हो र यो विविधताको राष्ट्रिय चलचित्र पुरस्कारभन्दा राम्रो प्रदर्शन अरू कुनै छैन। देशभरका प्रतिभाशाली विजेताहरूको बारेमा बोल्दै मन्त्री अनुराग ठाकुरले भने, ‘फेरि पनि अवार्डहरूले देशको क्षेत्रीय शक्तिलाई बाहिर ल्याएको छ र भारतीय सिनेमा कसरी प्रतिभा र प्रतिभाले भरिपूर्ण छ र फुलिरहेको छ भनेर स्मरण गराएको छl’ ‘भाषामा काच्चिनिथु, डाँगीमा आनाको गवाही र डिमासामा सेमखोर जस्ता चलचित्रहरू हाम्रो भाषिक सम्पदाको असाधारण प्रदर्शन हुन्’, उनले थपे।

मन्त्री अनुराग ठाकुरले आज चारजना बाल कलाकारले उत्कृष्ट बाल कलाकारको अवार्ड पाएकोमा अपार खुशी व्यक्त गर्नुका साथै दिव्यांग बालक दिव्येश इन्दुलकर र एकजना पुरस्कृतको पनि विशेष उल्लेख गरे। सर्वोत्कृष्ट महिला पार्श्व गायिका अवार्ड पाएकी नान्जियाम्मा लोक गायिका भएकोमा खुशी व्यक्त गर्दै मन्त्रीले उनी केरलाको एउटा सानो आदिवासी समुदायमा कुनै व्यावसायिक चलचित्र पृष्ठभूमि नभएको र यसले हाम्रो कथा कथन र प्रतिभाको शक्ति देखाएको बताए।

समारोहमा टेस्टीमोनी अफ आनालाई सर्वोत्कृष्ट गैर-फिचर फिल्मको अवार्ड प्रदान गरिएको थियो भने सोरराई पोत्रुलाई उत्कृष्ट फिचर फिल्मको अवार्ड दिइएको थियो। सूर्या र अजय देवगनले संयुक्त रूपमा उत्कृष्ट अभिनेताको अवार्ड पाए भने अपर्णा बालमुरलीलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड प्रदान गरियो। सच्चिदानन्दन केआरलाई मलयालम फिल्म एके अयप्पानुम कोशियुमका लागि उत्कृष्ट निर्देशकको अवार्ड र तानाजी: द अनसंग वारियरलाई उत्कृष्ट मनोरञ्जन प्रदान गर्ने लोकप्रिय चलचित्रको अवार्ड प्राप्त भयो। पुरस्कार विजेताहरूको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नुहोस् -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *