पुरी: भारतको ओडिशा राज्यस्थित पुरीमा रहेको १२औँ शताब्दीको ऐतिहासिक जगन्नाथ मन्दिरमा बम आक्रमणको धम्की आएपछि मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको एक सन्देशमार्फत मन्दिरमा आक्रमणको धम्की दिइएको थियो। उक्त पोस्टमा बीजु जनता दल (बीजद) का राज्यसभा सांसद सुभाषीश खुंटिया र पुरीको एक शपिङ कम्प्लेक्सलाई पनि निशाना बनाइएको उल्लेख छ।
घटनासँग सम्बन्धित एक व्यक्तिलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। जुन महिलाको फेसबुक खाताबाट उक्त पोस्ट गरिएको थियो, उनले यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै कसैले नक्कली प्रयोगकर्ता आईडी बनाएर धम्की दिएको हुनसक्ने बताएकी छन्।
यस विषयमा पुरी साइबर प्रहरी थानामा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ। एक प्रहरी अधिकारीले सावधानीका रूपमा मन्दिर परिसर र वरपर सुरक्षा व्यवस्था कडा गरिएको जानकारी दिएका छन्।
यसैबीच, सांसद खुंटियाले पुरीका प्रहरी प्रमुखसँग सम्पर्क गरी तत्काल कारबाहीको माग गरेको बताएका छन्। उनले आफूलाई अज्ञात व्यक्तिबाट धम्कीपूर्ण फोन कलसमेत आएको दाबी गरेका छन्।
जगन्नाथ मन्दिर हिन्दू धर्मका चार धाममध्ये एक हो र ओडिशाको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानको महत्वपूर्ण केन्द्र मानिन्छ। यहाँ प्रत्येक वर्ष आयोजना हुने रथयात्रामा विश्वभरबाट लाखौं भक्तजन सहभागी हुने गर्छन्।










