:इम्फाल: साहित्यिक क्षेत्रमा जीवनभरको योगदानका लागि सन् २०२५ को अमर उजालाको सर्वोच्च शब्द सम्मान ‘आकाशदीप’—हिन्दी भाषामा प्रतिष्ठित कथासाहित्यकार ममता कालिया र हिन्दीबाहेक अन्य भारतीय भाषामा मणिपुरीकी ख्यातिप्राप्त लेखिका आरामबम ओङ्बी मेमचौबीलाई प्रदान गरिनेछ।
उल्लेखनीय छ कि संयुक्त राष्ट्र संघले सन् १९७५ लाई अन्तर्राष्ट्रिय महिला वर्ष घोषणा गरेको थियो। सन् २०२५ त्यसको स्वर्ण जयन्ती वर्ष हो। साथै २०२६ साललाई पनि संयुक्त राष्ट्र संघले कृषि क्षेत्रमा महिलाको योगदानलाई समर्पित वर्षको रूपमा घोषणा गरेको छ। यस परिप्रेक्ष्यमा दुई महिला स्रष्टालाई दिइने यो सम्मान थप अर्थपूर्ण र विशिष्ट बनेको छ। यस सम्मान अन्तर्गत पाँच–पाँच लाख रुपैयाँ नगद, प्रशस्तिपत्र र प्रतीकस्वरूप गंगा मूर्ति प्रदान गरिनेछ।
आफ्नो विशाल रचनाकर्ममार्फत उत्तर–औपनिवेशिक चिन्तन र नारी आत्मपरिचयका प्रश्नमा मणिपुरी साहित्यमा विशिष्ट योगदान पुर्याएकी आरामबम ओङ्बी मेमचौबीको वास्तविक नाम डा. थाउनोजाम चानु इबेमहल हो। उनको जन्म १ जनवरी १९५७ मा भएको थियो। उनले मइतेई पुराणकथामा विशेष अध्ययन तथा रचना गरेकी छन्। समकालीन मणिपुरी साहित्यमा उनी एक सशक्त र प्रभावशाली स्वर मानिन्छिन्।
हिन्दीका लागि सर्वोच्च साहित्यिक सम्मान ‘आकाशदीप’बाट चयनित ममता कालियाको जन्म २ नोभेम्बर १९४० मा भएको थियो। नारीवादी आन्दोलनको प्रारम्भिक चरणमा उनले आफ्नो लेखनमार्फत नयाँ बाटो खोलिन् र एक दर्जनभन्दा बढी महत्त्वपूर्ण कृतिहरू रचना गरिन्। उनी विशेषगरी मध्यमवर्गीय जीवनको जटिलता र नारी पहिचानको संघर्षलाई प्रभावशाली भाषामा चित्रण गर्नका लागि परिचित छिन्।
आकाशदीप सम्मानअन्तर्गत यसअघि हिन्दीका साथै कन्नड, मराठी, बंगाली, ओडिया, मलयालम र गुजराती भाषालाई समेटिएको थियो। यस वर्ष भने पहिलोपटक मणिपुरी भाषालाई समावेश गरिएको छ।
हिन्दीबाहेक अन्य भारतीय भाषातर्फ यसअघि गिरीश कार्नाड, भालचन्द्र नेमाडे, शङ्ख घोष, प्रतिभा राय, एम. टी. वासुदेवन नायर र सितांशु यशचन्द्रले यो सम्मान प्राप्त गरेका छन्। त्यस्तै, हिन्दी भाषामा नामवर सिंह, ज्ञानरञ्जन, विश्वनाथ त्रिपाठी, शेखर जोशी, विनोद कुमार शुक्ल र गोविन्द मिश्र ‘आकाशदीप’ सम्मानबाट सम्मानित भइसकेका छन्।











