टोक्यो: जापानको एक अदालतले देशका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या गरेको अपराध स्वीकार गर्ने एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएको छ। सरकारी प्रसारण माध्यम ‘जापान ब्रडकास्टिङ कर्पोरेसन’ले यसबारे जानकारी दिएको हो। यस मुद्दाले जापानको सत्तारूढ दल र दक्षिण कोरियाको एक विवादास्पद चर्चबीच दशकौँदेखि कायम घनिष्ठ सम्बन्धलाई उजागर गरेको छ।
तेत्सुया यामागामी (४५) ले सन् २०२२ को जुलाईमा पश्चिमी सहर नारा मा चुनावी प्रचारका क्रममा भाषण दिइरहेका शिन्जो आबेको हत्या गरेको अपराध स्वीकार गरेका थिए। नारा जिल्ला अदालतले अभियोजन पक्षको मागअनुसार यामागामीलाई आजीवन कारावासको सजाय सुनाउँदै फैसला कायम राखेको छ।
चुनावी प्रचारका क्रममा आबेको हत्या:
जापानका सबैभन्दा प्रभावशाली नेतामध्ये एक शिन्जो आबे सन् २०२२ मा पश्चिमी सहर नारा मा चुनावी प्रचारका क्रममा मारिएका थिए। त्यस समयमा उनी प्रधानमन्त्री पद छोडिसकेपछि एक साधारण सांसदका रूपमा काम गरिरहेका थिए। कडा बन्दुक नियन्त्रण रहेको देश जापान यस घटनाले गहिरो रूपमा स्तब्ध भएको थियो। यामागामीले ‘युनिफिकेशन चर्च’सँग सम्बन्धित एक समूहलाई पठाइएको आबेको भिडियो सन्देश हेरेपछि आफूले उनको हत्या गरेको बताएका छन्। उनका अनुसार चर्चलाई क्षति पुर्याउनु र आबेसँगको त्यसको सम्बन्ध उजागर गर्नु नै उनको उद्देश्य थियो।
अभियोजन पक्षले यामागामीका लागि आजीवन कारावासको माग गरेको थियो भने उनका वकिलहरूले २० वर्षभन्दा बढी सजाय नदिन आग्रह गरेका थिए। उनीहरूले चर्चका अनुयायी अभिभावकका सन्तानका रूपमा यामागामीले भोगेका कठिनाइहरूको उल्लेख गरेका थिए। जापानी कानुनले हत्या अपराधमा मृत्युदण्डको व्यवस्था गरे पनि, सामान्यतया कम्तीमा दुई जनाको हत्या नभएसम्म अभियोजन पक्षले मृत्युदण्डको माग गर्दैन।
पुलिस सुरक्षा कडा बनाइयो:
सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र चर्चबीचको घनिष्ठ सम्बन्ध सार्वजनिक भएपछि पार्टीले चर्चसँग दूरी बनाएको छ। यस हत्या घटनापछि अधिकारीहरूले महत्वपूर्ण व्यक्तिहरूको पुलिस सुरक्षा बढाउने दिशामा पनि कदम चालेका छन्।
अधिकारीहरूका अनुसार, सन् २०२२ जुलाई ८ मा नारा को एक रेल स्टेसन बाहिर भाषण दिइरहेका बेला आबेमाथि गोली प्रहार गरिएको थियो। टेलिभिजन क्यामेरामा कैद दृश्यमा नेता मुठ्ठी उठाउने बित्तिकै लगातार दुई राउन्ड गोली चलेको आवाज सुनिन्छ र उनी छाती समात्दै भुइँमा ढलेका देखिन्छन्, उनको सर्टमा रगतको दाग स्पष्ट देखिन्थ्यो।
यामागामीलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो। उनले सुरुमा ‘युनिफिकेशन चर्च’का नेताको हत्या गर्ने योजना बनाएको बताए, तर नजिक पुग्न कठिन भएपछि लक्ष्य परिवर्तन गरी शिन्जो आबेलाई निशाना बनाएको स्वीकार गरेका छन्।











