दिनहाटा: खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान र उनको प्रशिक्षणबाट अनेकौँ खेलाडी तयार भई देशका विभिन्न भागमा स्थापित भएकाले दिनहाटाको ओकडाबारी ग्राम पञ्चायत अन्तर्गत इन्द्र नारायण गाउँका क्रीडा व्यक्तित्व अजित बर्मनलाई राज्यकी मुख्यमन्त्री ममता बनर्जीले सम्मानित गर्नुभएको छ।आइतबार मुख्यमन्त्रीले पठाउनुभएको प्रशस्ति–पत्र र उपहार सामग्री लिएर सिताई विधानसभा क्षेत्रकी विधायक सङ्गीता राय इन्द्रनारायण गाउँस्थित अजित बर्मनको घर पुग्नुभयो र उहाँको हातमा मुख्यमन्त्रीको शुभकामना सन्देश तथा उपहार हस्तान्तरण गर्नुभयो। यस अवसरमा कूचबिहार जिल्ला परिषद्का कर्माध्यक्ष नूर आलम हुसेनसहित थुप्रै गणमान्य व्यक्तिहरू उपस्थित थिए।मुख्यमन्त्रीबाट प्राप्त सम्मानले भावुक बनेका अजित बर्मनले भन्नुभयो, “कर्मको अर्थ केवल काम गर्नु मात्र होइन, जनहितका लागि काम गर्नु हो। यसमा कुनै भेदभाव हुनु हुँदैन। को सांसद हो वा को विधायक, त्यो ठूलो कुरा होइन; महत्त्वपूर्ण कुरा सबैले समाजका लागि राम्रो काम गर्नु हो। धेरै मानिसहरू मेरो घरमा आएर भन्छन् ‘तपाईं यति साधारण घरमा कसरी बस्नुहुन्छ?’ म उनीहरूलाई भन्छु, अरूको भलाइका लागि कहिलेकाहीँ आफ्नो सुख त्याग्नुपर्छ। आज मुख्यमन्त्री ममता बनर्जीले मलाई जुन प्रकारले सम्मान दिनुभएको छ, त्यसप्रति म अत्यन्त आभारी र भावविभोर छु।विधायक सङ्गीता रायले भन्नुभयो, “माननीय मुख्यमन्त्रीले मलाई फोन गरेर निर्देशन दिनुभएको थियो कि म अजित बर्मनको घरमा गएर उहाँलाई शुभकामना र उपहार हस्तान्तरण गरूँ। त्यसैअनुसार हामी यहाँ आएका हौँ। उहाँ समाजमा खेलाडी निर्माण गर्ने शिल्पकार हुनुहुन्छ। जहाँ गए पनि, विद्यालयहरूमा होस् वा अन्य ठाउँमा, अजित बर्मनबाट प्रशिक्षित खेलाडीहरू आज विभिन्न सरकारी तथा निजी संस्थानहरूमा कार्यरत पाइन्छन्। म ईश्वरसँग उहाँको दीर्घायुको कामना गर्छु।











