उत्तर बंगाल राज्य परिवहन निगममा छ वटा भोल्भो स्लीपर बस सञ्चालनमा

IMG-20260118-WA0026

काेचबिहार: राज्यकी मुख्यमन्त्री ममता बनर्जीको पहलमा उत्तर बंगाल राज्य परिवहन निगम (एनबीएसटीसी) मा छ वटा नयाँ भोल्भो स्लीपर बस सेवा सुरु गरिएको छ।
शुक्रबार मुख्यमन्त्री ममता बनर्जीले सिलिगुडीबाट ती छ वटा भोल्भो स्लीपर बसको औपचारिक उद्घाटन गर्नुभयो। यस अवसरमा काेचबिहारस्थित उत्तर बंगाल राज्य परिवहन निगमको केन्द्रीय बस टर्मिनसमा एक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा निगमका अध्यक्ष पार्थ प्रतिम राय, काेचबिहारका जिल्ला अधिकारी राजु मिश्र, जिल्ला पुलिस अधीक्षक सन्दीप कारा, राज्यका पूर्व मन्त्री रवीन्द्रनाथ घोष, तृणमूल किसान संगठनका जिल्ला अध्यक्ष खोखन मियाँ लगायत निगमका अधिकारीहरूको उपस्थिति रहेको थियो।
एनबीएसटीसीका अध्यक्ष पार्थ प्रतिम रायले यो प्रकारको सेवा निगमको इतिहासमा पहिलो पटक सुरु गरिएको जानकारी दिनुभयो। प्रारम्भिक रूपमा यी स्लीपर भोल्भो बसहरू काेचबिहार, अलीपुरद्वार र जलपाइगुडी जिल्लाबाट सञ्चालन हुने बताइएको छ। तर कुन–कुन रुटमा चल्ने, समय तालिका के हुने र भाडा कति हुने भन्ने विषय पछि सार्वजनिक गरिनेछ। उद्घाटनका क्रममा हामी सबै केन्द्रीय बस टर्मिनसमा उपस्थित थियौँ, अध्यक्षले भन्नुभयो।
यसअघि रिभल्भिङ सिट भएका भोल्भो बसहरू सुरु गर्दा निगमले केही दिनसम्म छुट दिएको थियो। यसपटक पनि नयाँ स्लीपर बसहरूमा त्यस्तै छुट दिने तयारी भइरहेको निगम स्रोतले जनाएको छ। हाल निगमसँग करिब ७०० बस छन्, जसमध्ये दैनिक औसत ५५० देखि ६०० बस सञ्चालनमा रहने गरेका छन्। सेवाको गुणस्तर सुधार गर्न यसअघि ३० वटा सीएनजी बस खरिद गरिएको थियो र चाँडै थप ६० वटा नयाँ बस आउने अध्यक्षले बताउनुभयो।
केही महिनाअघि पहिलो चरणमा छ वटा भोल्भो बस पनि सुरु गरिएको थियो। तर कूचबिहार, अलीपुरद्वार र जलपाइगुडीबाट दिघा जाने बसहरूमा यात्रु कम भएपछि अहिले ती बसहरू सिलिगुडी हुँदै कोलकाता भएर दिघा चलाइँदै छन्। त्यसैले नयाँ स्लीपर बसमा पर्याप्त यात्रु पाइने वा नपाइने भन्ने चिन्ता पनि रहेको छ।
तथापि अध्यक्षले गत डिसेम्बरमा निगमको ट्राफिक आम्दानी १६ करोड ३९ लाख रुपैयाँ पुगेको जानकारी दिनुभयो, जुन निगमको इतिहासमा दोस्रो उच्च हो। यी स्लीपर बसहरू सञ्चालनमा आएपछि यात्रुको सुविधा बढ्ने मात्र नभई निगमको आम्दानी पनि वृद्धि हुने अपेक्षा गरिएको छ।

About Author

Advertisement