काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अब पार्टीको आधिकारिकताको विषय निर्वाचन आयोग र अदालतबाट टुंगिने स्पष्ट पारेका छन्।
नेता लेखकले असन्तुष्ट पक्षले समानान्तर गतिविधि जारी राखेको र संस्थापन पक्षले कारबाहीको निर्णय लिएसँगै अबको बाटो कानुनी उपचार नै भएको बताए।
‘अब यसका लागि निर्वाचन आयोग जाने र अदालत जाने बाटो खुल्यो,’ लेखकले भने, ‘अब कसले मान्यता पाउँछ भन्ने कुराको छिनोफानो कानुनी र राजनीतिक लडाइँबाट सुरु हुन्छ।’
नेता लेखकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरिसकेपछि पार्टीभित्रको विवाद अब राजनीतिक सहमतिबाट टाढा पुगेर कानुनी लडाइँमा परिणत भएको बताएका छन्।
पार्टी एकताका लागि अन्तिम समयसम्म संवाद र प्रयास भए पनि त्यो सफल हुन नसकेको स्वीकार गर्दै लेखकले अब दुवै पक्ष आ–आफ्नो बाटो लागेको बताए।
उनले भने, ‘उहाँहरूले छुट्टै भेला र उम्मेदवारी दर्ता गर्नुभयो, हामीले विधान बमोजिम कारबाही गर्यौँ। अब वैधानिकताको परीक्षण कानुन र संविधान बमोजिम राज्यका निकायमा हुन्छ।’
लेखकले यो कानुनी लडाइँले प्रकारान्तरले लोकतन्त्र र कांग्रेसलाई नै कमजोर बनाउने भए पनि परिस्थितिले बाध्यात्मक अवस्था सिर्जना गरेको टिप्पणी गरे।








