काठमाडौँ। इरानमा जारी प्रदर्शनले भर्खरै ५०० जनाको ज्यान लिएको दाबी गरिएको छ। अमेरिकास्थित मानवधिकार संगठन एचआरएएनएको रिपोर्टअनुसार, दुई हप्तादेखिको आन्दोलनमा ४९० प्रदर्शनकारी र ४८ सुरक्षाकर्मीको मृत्यु भएको छ। यसयता साढे १० हजारभन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ। तर, इरान सरकारले आधिकारिक रूपमा मृत्युको संख्या सार्वजनिक गरेको छैन र अमेरिकी मानवधिकार समूहको विवरणमा सत्यता नभएको बताएको छ।
प्रदर्शनको सुरूवात इरानी मुद्रा अवमूल्यन र महँगीको विरोध गरेर भएको थियो, जुन चाँडै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हटाउने मागमा परिणत भएको छ। यसमा अमेरिकाको संलग्नता रहेको समेत केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनको प्रारम्भमा प्रदर्शनकारीको पक्षमा उभिएर, गोली चलाउने क्रममा हस्तक्षेप गर्ने चेतावनी दिएका थिए। यस कार्यले प्रदर्शनकारीलाई बल दिई प्रदर्शनलाई उत्साहित बनाएको जनाइएको छ।
खामेनीले हिंसात्कारी प्रदर्शनलाई आतंककारीको संज्ञा दिँदै, सरकारले स्थिति नियन्त्रणमा लिन कदम चाल्ने बताएका छन्। ट्रम्पले इरानको स्थितिमा विभिन्न विकल्पहरूको बारेमा उच्च सैन्य अधिकारीहरूसँग छलफल गरेका थिए।
रिपोर्टअनुसार चार विकल्पमा कुरा भएको छ: पहिलो विकल्प सैन्य कारबाही, जसमा ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्ने अमेरिकी कार्यको उदाहरण दिएका छन्। दोस्रो, इरानमा गोप्य साइबर हमला, तेस्रो कडा प्रतिबन्ध र चौथो, सरकार विरोधी समूहलाई अनलाइन सहयोग गर्नु रहेको छ।
हालको स्थिति कष्टदायी बनेको छ, जसमा प्रदर्शन हिंसात्मक बनिसकेका छन् र देशभरमा इन्टरनेट सेवा अवरूद्ध गरिएको छ। यसले सूचना प्रवाहमा बाधा पुर्याएको छ। ट्रम्पले इलन मस्कसँग इरानमा इन्टरनेट पुनःस्थापना गर्नेबारे छलफल गर्ने इच्छा व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिंसा प्रति दु:ख व्यक्त गर्दै, अभिव्यक्ति र शान्तिपूर्ण भेलाको अधिकारलाई सम्मान गर्न आग्रह गरेका छन्।









