कोसीमा मन्त्रिपरिषद् पुनर्गठन, नयाँलाई मौका

IMG-20260107-WA0003

बिराटनगर: कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूले मंगलबार नै शपथग्रहण गरेका छन्। कांग्रेस र एमालेबीच मन्त्रिपरिषद्मा नयाँ अनुहार पठाउने समझदारी भएबमोजिम पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूलाई जिम्मेवारी दिइएको हो।
सबै मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गरिएको छ मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ अनुहारलाई सरकारमा सहभागी गराउनुभएको हो।
मुख्यमन्त्रीको सिफारिशमा नियुक्त भएका आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको छ।
नयाँ मन्त्रीमण्डलमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भागबण्डा मिलाइएको छ। सरकारमा दुवै दलबाट समान चार-चारजना मन्त्री र एक-एकजना राज्यमन्त्री सहभागी छन्।
सरकारमा प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउनुभएको छ। यस्तै, विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बूले स्वास्थ्य मन्त्रालय, इसाइल मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।
शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विनाविभागीय राज्यमन्त्री नियुक्त हुनुभएको छ।

About Author

Advertisement