सिलगढी: “भारत मेरा देश महान विश्वलाई दिन्छन् आत्मज्ञान~ उक्त भनाई आज मानव सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र सिलगढीद्वारा उत्तर पलास मझुवा गाउँस्थित मानव धर्म परिसरमा आयोजित दुई दिवसीय सद्भावना सम्मेलनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै मानव धर्मका प्रणेता सतपालजी महाराजले व्यक्त गरेका हुन्। भारतको आध्यात्मिक सम्पदाको महिमा सुनाउँदै उहाँले अझ भन्नुभयो-भारत भूमि सदा ऋषि–महर्षिहरूको तपोभूमि रही आएको छ। यही पावन भूमिबाट सत्य, अहिंसा, प्रेम, करुणा र आत्मबोधको अमृतधारा विश्वभर फैलिएको छ। वेद, उपनिषद्, गीता र सन्त–महात्माहरूको दिव्य वाणीले मानव जातिलाई आत्मज्ञान र परम शान्तिको मार्ग देखाउँदै आएको छ। भारतको यही आध्यात्मिक महिमा आज पनि समस्त मानवताको पथप्रदर्शक बनेको छ।समाजमा सद्भावना, नैतिकता र आध्यात्मिक चेतनाको जागरण बिना सुसंस्कृत मानव जीवन सम्भव छैन भन्दै श्री सतपालजी महाराजले मानव जीवनको वास्तविक सफलता भौतिक समृद्धिमा मात्र सीमित नभई, आन्तरिक शान्ति, प्रेम र आत्मबोधमा निहित रहने कुरा स्पष्ट पार्नुभयो। श्री महाराजीले मानव धर्मको मूल सन्देश स्मरण गराउँदै भने–धर्म मानव मानवका लागि प्रेम, करुणा र सेवा नै सत्य धर्मका आधारस्तम्भ हुन्। आफूले आफूलाई जानेर वसुधैव कुटुम्बकमको विचारलाई व्यावहारिक रुपमा शिरोपर गर्नु नै धर्मको प्रमुख उद्देश्य हो।
श्री महाराजका अनुसार जाति, धार्मिक सम्प्राय,भाषा , संस्कृति , देश तथा क्षेत्र आदि भिन्न हुँदाहुँदै पनि सबै मानवहरू एउटै परम चेतनाका अंश हुन्। त्यसैले एक–अर्काप्रति समझदारी, सहिष्णुता र सद्भावना विकास गर्नु आजको आवश्यकता हो।
श्री महाराजीले ध्यान, सुमिरण र आन्तरिक साधनाबाट आत्मज्ञान प्राप्त गर्न सकिने बताउँदै, बाहिरी देखावटभन्दा आन्तरिक अनुभूति नै साँचो अध्यात्म भएको उल्लेख गर्नुभयो।
श्री सतपालजी महाराजले देश–विदेशबाट आउनुभएका सन्त–महात्मा, भक्त तथा श्रद्धालुहरूलाई सम्बोधन गर्दै भन्नुभयो कि संसार परिवर्तन गर्नु अघि स्वयंमा परिवर्तन ल्याउनु अत्यावश्यक छ। व्यक्तिको अन्तःकरणमा परिवर्तन आएपछि मात्र समाज, राष्ट्र र अन्ततः सम्पूर्ण विश्वमा सकारात्मक परिवर्तन सम्भव हुन्छ।
श्री हंसजी महाराजको १२५ औँ पावन जन्मजयन्तीको अवसरमा उहाँका आध्यात्मिक, सामाजिक तथा मानव कल्याणकारी विचारहरूको स्मरण गर्दै श्री सतपालजी महाराजले भन्नुभयो कि सन्तहरूको शिक्षा केवल सुन्नका लागि होइन, जीवनमा उतार्नका लागि हो। अंशजी महाराजले दिनुभएको आध्यात्मिक ज्ञानलाई आज पनि व्यवहारिक रुपमा पालन गर्नु नै उहाँप्रति साँचो श्रद्धाञ्जली हो भन्नुभयो।
श्री सतपालजी महाराजले ऐतिहासिक ‘जन जागरण पदयात्रा’को स्मरण गर्दै जानकारी दिनुभयो कि- सन् १९८५ सालको अक्टोबर महिनामा सिलगढीको गान्धी मैदानबाट शुरु भएको १४ दिने पदयात्रा करिब २५० किलोमिटर पैदल यात्रा गर्दै दार्जिलिङ हुँदै गान्तोकसम्म सम्पन्न भएको थियो। यस पदयात्राको उद्देश्य सामाजिक चेतना, राष्ट्रिय एकता र सांस्कृतिक समरसताको प्रचार गर्नु थियो। विशेषगरी नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा मान्यता दिलाउने जन-जागरण अभियानमा यो पदयात्राले ऐतिहासिक सफलता हासिल गरेको उहाँले बताउनुभयो। यस महान् उद्देश्यमा सहभागी सबै सहयात्रीहरूको योगदान अविस्मरणीय रहेको उहाँको भनाइ थियो। आज ३१ डिसेम्बरको दिउँसो सम्मेलन स्थलको परेड ग्राउन्डमा सम्पन्न भएको मानव सेवा दल एवं आध्यात्मिक युवा संगठनको पिटीपरेट लगायत विभिन्न भाषाभाषी सांस्कृतिक नृत्यहरू र हंस बेन्डको विविध प्रस्तुतिहरूको अवलोकन गर्दै श्री महाराजले मानव सेवा दलको परेडको प्रशंसा गर्दै सेवा दलका सदस्य तथा सेविकाहरूले अनुशासन, एकता र लक्ष्यप्राप्तिको जीवन्त उदाहरण प्रस्तुत गरेको बताउनुभयो साथै सांस्कृतिक कार्यक्रममा सहभागी कलाकारहरूको पनि उहाँले खुलेर प्रशंसा गर्दै सबैलाई पारितोषिक पनि प्रदान गरे।
सद्भावना सम्मेलनको प्रथम दिन ३१ दिसम्बर साँझमा सम्मेलनका प्रमुख अतिथि सिक्किम राज्यका सम्माननीय मुख्यमन्त्री श्री पीएस गोले र सद्गुरुको करकमलबाट दीप प्रज्वलन गरी दुई दिवसीय सद्भावना सम्मेलनको समुद्घाटन भएको थियो। सिक्किमका सम्माननीय मुख्यमन्त्रीले यस वर्ष पनि नयाँ वर्ष श्री सतपालजी महाराजको साथमा पालन गर्नुभयो। श्री महाराजजीको दिव्य सानिध्यमा यसरी सद्भावना सम्मेलनमा भाग लिएर नयाँ वर्ष आध्यात्मिक माहोलमा श्री महाराजजीको साथमा पालन गर्न पाउनु आफ्नो अहोभाग्य रहेको बताउदै श्री महाराजजीले विश्वको मानवको कल्याणको लागि यसरी काम गरिरहनु भएको कुरो बताउनुभयो। सिक्किममा मानव धर्मको प्रचार प्रसारमा सिक्किम सरकारले सक्दो सहयोग गरिरहेको अनि भविष्यमा पनि अझ सहयोग पुर्याउने सम्माननीय मुख्यमन्त्रीले वचन दिनुभयो।
सद्भावना सम्मेलनका प्रथम दिन भारत नेपालका विभिन्न प्रान्तहरूबाट आउनुभएका आत्मानुभवी सन्त महात्मा बाइजीहरूले नेपाली हिन्दी साद्री भाषामा आध्यात्मिक प्रवचनहरू दिएका थिए। संस्कृति विभागका कलाकारहरूद्वारा विभिन्न भाषामा भजन नृत्य नाटक आदि प्रस्तुत गरेका थिए भने श्री हंसजी महाराजको जीवन दर्शनमा आधारित नाटक पनि प्रस्तुत गरेका थिए।
यस वर्षको सद्भावना सम्मेलनमा भारतका वरिष्ठ समाजसेवक मुम्बई निवासी श्री सुरेश भैया जोशीजी ,उत्तराखण्ड पौडी गडवालका श्री राकेश नैथानीजी, श्री ओमपाल बिष्टजी, श्री गणेश रावतजी, श्री सञ्जय साजवानजी, श्री सीमा सनजवानजी, दार्जपलिङका राजु विष्ट आदि विशिष्ट अतिथिहरू पनि उपस्थित थिए।सम्मेलनलाई सम्बोधन गर्दै युवा शक्तिका प्रणेता श्री विभूजी महाराजले युवा वर्ग देश तथा समाजको मेरुदण्ड भएको बताउँदै उहाँले युवाहरूलाई नशामुक्त, अनुशासित र सकारात्मक जीवनदृष्टि अपनाउन प्रेरित गर्नुभयो।
कार्यक्रममा देश–विदेशबाट सहभागी भक्तजन तथा समाजसेवीहरूको उत्साहपूर्ण उपस्थितिले सम्मेलन स्थलमा आध्यात्मिक उर्जा र उल्लास थपिएको थियो। अन्त्यमा ३१ दिसम्बर बेलुकी १२ बजी श्री महाराजजीको करकमलबाट एउटा मैनबत्ती बालेर सोही मैनबत्तीबाट उपस्थित भक्तजनले एक एकवटा मैनबत्ती बालेर विश्वशान्ति, मानवता, सद्भावना र आध्यात्मिक उत्थानको कामना गर्दै सामूहिक प्रार्थना सहित वर्ष २०२५ लाई बिदाई दिँदै नयाँ वर्ष २०२६ लाई हार्दिक स्वागत गरिएको थियो।










