दार्जिलिङ: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले सामाजिक संजाल मार्फत दार्जिलिङ पहाड़, तराई र डुवर्सका जनता साथै भारतभरिका गोरखाहरूको तर्फबाट असमका जनता र गोर्खा समुदायको सेवामा ५० स्वर्णिम वर्ष पूरा गरेको अवसरमा अखिल असम गोर्खा विद्यार्थी संघ (आग्सु)-लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।
सांसदले भने- २६ डिसेम्बर १९७५ मा स्थापना भएको आग्सु आज हाम्रो समुदायको लागि एकता, सशक्तिकरण र अधिकारको आवाज बनेको छ। स्थापना कालदेखि नै आग्सुले यस क्षेत्रका गोर्खा समुदायले सामना गर्दै आएका शैक्षिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक चुनौतीहरूलाई सम्बोधन गर्दै आएको छ। असमभर छरिएर बसेका गोर्खा जातीको पहिचान सुनिश्चित गर्न आग्सु अग्रपंक्तिमा रहँदै आएको छ।
सामाजिक संजाल मार्फत सांसदले उल्लेख गरे कि आग्सुले विभिन्न पर्व, उत्सव तथा कार्यक्रमहरू मार्फत गोर्खा संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गरेको छ। अझ महत्त्वपूर्ण कुरा, आधुनिकीकरणको प्रभावका बाबजुद आग्सुले हाम्रो भाषा, रीतिरिवाज र इतिहासलाई जीवन्त राख्न सफल भएको छ।
आग्सुले अन्य समुदाय तथा जनजातिसँग सहकार्य गर्दै भेदभावविरुद्ध संघर्ष गरेको छ र असमको सामाजिक, राजनीतिक तथा आर्थिक संरचनामा गोर्खाहरूका लागि समान र न्यायपूर्ण स्थान निर्माण गर्न सफल भएको कुरा राख्दै सांसदले आज आग्सु परिवर्तनको एक शक्तिशाली माध्यममा रूपान्तरण भएको छ, जसले हाम्रो समुदायलाई एकताबद्ध गरिरहेको छ, र उज्यालो भविष्यतर्फ बाटो प्रशस्त गरिरहेको छ भने।
अन्त्यमा सांसदले आग्सुका वर्तमान तथा पूर्व सबै सदस्यहरूलाई हार्दिक बधाई दिंदै असमका गोर्खाहरूको आवाज बन्न निरन्तर गरेको अथक प्रयासका लागि उनीहरूलाई धन्यवाद ज्ञापन गरे।










