भारतीय खेलकुदको निम्ति ऐतिहासिक रह्यो साल २०२५

photocollage_2025122612283724

नयाँ दिल्ली: साल २०२५ भारतीय खेल इतिहासका ती विशेष वर्षहरू मध्ये एक बन्यो, जसमा भारतले एकसाथ धेरै खेलमा विश्वस्तरमा आफ्नो शक्ति र प्रभाव देखायो। क्रिकेटमा भारतीय पुरुष टोलीले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ जित्दै आफ्नो एकक्षत्र शासन कायम राख्यो भने नवी मुम्बईमा भारतीय महिला टीमले पहिलोपल्ट वर्ल्ड कप जितेर इतिहास रच्यो। यससँगै चेसमा डी. गुकेश र दिव्या देशमुखजस्ता युवा प्रतिभाले भारतलाई नयाँ पहिचान दिलाए भने ज्याभलिन थ्रो-मा नीरज चोपड़ाले पुनः एकपल्ट देशको गौरव बढ़ाए। प्यारा–खेलकुद र एशियाली खेलहरूमा समेत भारतीय खेलाड़ीहरूको शानदार प्रदर्शनले साल २०२५ केवल उपलब्धिको वर्ष मात्र नभएर भारत खेल महाशक्ति बन्दै गएको यात्राको महत्वपूर्ण मोड़ पनि हो भन्ने साबित गऱ्यो।

२०२५ एशियन युथ गेम्समा रेकर्ड प्रदर्शनः
भारतले २०२५ एशियन युथ गेम्समा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै जम्मा ४८ पदक जित्यो। यसमा १३ स्वर्ण, १८ रजत र १७ काँस्य पदक सामेल थिए। यो भारतको सबैभन्दा ठूलो एशियन युथ गेम्स उपलब्धि हो। यस प्रदर्शनको साथ साल २०२६ युथ ओलम्पिक्सका लागि पनि धेरै युवा खेलाड़ीले क्वालिफाई गर्ने अवसर पाए। कुस्ती, बक्सिंग, एथलेटिक्स, कबड्डी र भारोत्तोलनलगायत विभिन्न खेलमा भारतीय युवा खेलाड़ीहरूले प्रभावशाली प्रदर्शन गरे।

आर्चरीमा असाधारण सफलताः यस वर्ष विश्व धनुकाँड़ (आर्चरी) च्याम्पियनशीपमा भारतीय पुरुष कम्पाउण्ड टीमले स्वर्ण पदक जितेर इतिहास रच्यो। यो विश्व च्याम्पियनशिपमा भारतको पहिलो कम्पाउण्ड स्वर्ण पदक हो। टोलीमा रिषभ यादव, प्रभात सलुनखे र पृथ्मेश फुगे जस्ता युवा खेलाड़ीहरूको उत्कृष्ट योगदान रह्यो, जसले यस खेलमा भारतको बढ़्दो क्षमता स्पष्ट गर्‍यो।

एशियन एथलेटिक्स च्याम्पियनशिपमा प्रभावशाली प्रदर्शनः
भारतले एशियन एथलेटिक्स च्याम्पियनशिप २०२५ मा दोस्रो स्थान हासिल गर्दै जम्मा २४ वटा पदक जित्यो। यसमा स्वर्ण, रजत र काँस्य पदकसँगै थुप्रै राष्ट्रिय रेकर्ड पनि बनियो। गुलवीर सिंहले ५,००० मिटर र १०,००० मिटर दुवै स्पर्धामा स्वर्ण जिते भने अविनाश साबले, ज्योति याराजीसहित अन्य युवा एथलीटले अन्तर्राष्ट्रिय स्तरमा भारतको नाम उज्यालो पारे।

शूटिंग वर्ल्ड कपमा ऐतिहासिक स्वर्णः २० वर्षीय युवा शूटर सम्राट राणाले १० मिटर एयर पिस्टल स्पर्धामा विश्व च्याम्पियनशिप स्वर्ण जित्दै आफ्नो करियरको सबैभन्दा ठूलो उपलब्धि हासिल गरे। यो भारतका लागि शूटिंग खेलमा ऐतिहासिक क्षण बन्यो।

विश्व बक्सिंग च्याम्पियनशिपमा भारतको जयजयकारः
ग्रेटर नोएडामा आयोजित विश्व बक्सिंग च्याम्पियनशिप फाइनल्स २०२५ मा जेस्मिन लेम्बोरियाले महिलाहरूकी ५७ किग्रा भार वर्गमा स्वर्ण पदक जितिन्। नुपुर सेरोनले +८० किग्रा वर्गमा रजत जित्दै भारतको अभियानलाई थप मजबूत बनाइन्। प्रतियोगितामा भारतले जम्मा २० वटा पदक (९ स्वर्ण, ६ रजत र ५ काँस्य) जित्दै ऐतिहासिक सफलता हासिल गर्‍यो।

भारत खो-खो विश्व कप विजेताः भारतीय महिला खो–खो टीमले २०२५ विश्व कपको खिताब जित्दै देशलाई गौरवान्वित बनायो। ढाकामा सम्पन्न फाइनलमा भारतले चाइनीज ताइपेलाई पराजित गर्दै ट्रफी जित्यो, जसले भारतीय परम्परागत खेलको विश्वव्यापी विस्तारलाई संकेत गर्‍यो।

आईसीसी च्याम्पियन्स ट्रफी भारतको झोलीमाः
भारतीय पुरुष क्रिकेट टीमले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा न्यूजील्याण्डलाई पराजित गर्दै तेस्रोपल्ट खिताब जित्यो। रोहित शर्माको कप्तानीमा हासिल यस जीतले वनडे क्रिकेटमा भारतको मजबूत उपस्थितिलाई झल्कायो।

चेसमा विश्वस्तरीय रेकर्ड र सम्मानः युवा विश्व च्याम्पियन डी. गुकेशले यस वर्ष म्याग्नस कार्लसनलगायत शीर्ष खेलाड़ीहरूलाई पराजित गर्दै विश्व चेसमा भारतलाई अग्रिम पंक्तिमा राखे। उनले प्रतिष्ठित खेल रत्नसहित एकाधिक ठूला सम्मान हासिल गरे।

भारतीय महिला क्रिकेट टीम पहिलोपल्ट विश्व विजेताः
साल २०२५ भारतीय महिला क्रिकेटका लागि स्वर्णिम अध्याय बन्यो। भारतीय टीमले पहिलोपल्ट महिला विश्व कप जितेर इतिहास रच्यो। फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै हरमनप्रीत कौरकी कप्तानीमा रहने टीमले आत्मविश्वास, संयम र आक्रामकताबीच सन्तुलन देखायो। 

भारतको गौरव बनिन् प्यारा धनुर्धर शीतल देवीः
प्यारा धनुर्धर शीतल देवीले विश्व खिताब जितेर देशको मान बढ़ाइन्। यसको साथमा जेद्दामा हुने एशिया कप (चरण तीन) को लागि भारतको सक्षम (सामान्य) जुनियर टीममा स्थान बनाएर इतिहास रचिन्। विश्व कम्पाउण्ड च्याम्पियन बनेर शीतलले सीमाना शरीरमा नभएर सोचमा हुन्छ भन्ने प्रमाणित गरिन्।

दृष्टिवाधित महिला क्रिकेट टीम टी–२० विश्व कप विजेताः 

भारतीय दृष्टिवाधित महिला क्रिकेट टीमले यस साल टी–२० विश्व कपको खिताब जित्यो। कोलम्बोमा भएको फाइनलमा भारतले नेपाललाई ७ विकेटले पराजित गर्‍यो।

व्यक्तिगत अनि अन्य खेलहरूमा भारतको सफलताहरूः साल २०२५ मा भारतले टीम खेलहरू मात्र नभएर व्यक्तिगत तथा उदीयमान खेलहरूमा पनि विश्वभरि आफ्नो मजबूत उपस्थिति दर्ता गरायो। चेसमा डी. गुकेशको प्रदर्शन वर्षभर चर्चामा रह्यो भने दिव्या देशमुखले फिडे महिला विश्व कप जित्दै भारतीय चेसको उज्यालो भविष्यको संकेत दिइन्। एथलेटिक्समा नीरज चोपड़ाले ज्याभलिन थ्रो खेलमा ९० मीटरको आँकड़ा पार गर्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरे जबकि ताइवान एथलेटिक्स ओपनमा भारतले समग्र तालिकामा शीर्ष स्थान हासिल गरी आफ्नो गहिरो क्षमता प्रमाणित गर्‍यो। प्यारा–खेलकुदमा भारतले नयाँ उँचाई हासिल गऱ्यो। भारतले नयाँ दिल्लीमा आयोजित विश्व प्यारा एथलेटिक्स च्याम्पियशीपमा २२ वटा पदक जित्यो भने इटालीमा सम्पन्न स्पेशल ओलम्पिक्स वर्ल्ड विण्टर गेम्समा ३३ पदकसहित अहिलेसम्मकै सबैभन्दा सफल अभियान दर्ता गर्‍यो। यसबाहेक नित्तेन किर्त्तानेले पिकलबल विश्व कपमा डबल स्वर्ण जिते भने भारतीय महिला आइस हकी टीमले एशिया कपमा ऐतिहासिक काँस्य पदक जित्दै नयाँ अध्याय थप्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement