मिलनमोड़: मधुर मिलन संघको तत्त्वावधानमा प्रतिष्ठित मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टको १२औं संस्करण बुधवारदेखि शुरु भयो। मिलनमोड़ खेल मैदानमा आज भएको उद्घाटन म्याचमा क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए), मिलनमोड़ले नर्थ बेंगल आर्म्ड पुलिस ब्रिगेडविरुद्ध पेनल्टी शूटआउटमा ४-३-ले जीत हासिल गऱ्यो। निर्धारित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका गोलकीपर बिवेक राईलाई प्लेयर अव् द म्याच चयन गरियो। बिहीवार खेलिने म्याचमा ईष्ट बेंगल राजगञ्ज र युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। २ वटा सेमिफाइनल ७ र ८ जनवरीमा हुनेछ। यसरी फाइनल म्याच ११ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।











