ढाका: बंगलादेशका लागि रूसका राजदूत अलेक्जेन्डर ग्रिगोरियेभिच खोजिनले बंगलादेश र भारतबीच बढ्दो तनाव यथाशीघ्र कम गर्नु दुवै देश तथा दक्षिण एसियाको स्थिरताका लागि आवश्यक रहेको बताएका छन्। ढाकास्थित रूसी दूतावासमा पत्रकारहरूसँगको पहिलो भेटमा उनले भारतसँगको सम्बन्ध सुधार्न ढिलाइ नगर्न बंगलादेशलाई सुझाएका हुन्।
राजदूत खोजिनका अनुसार रूसले बंगलादेश–भारत द्विपक्षीय मामिलामा हस्तक्षेप गर्न चाहँदैन, तर तनाव कम गर्ने उपाय खोजिनु बुद्धिमानी हुनेछ। उनले सन् १९७१ को मुक्ति संग्राम स्मरण गर्दै बंगलादेशको स्वतन्त्रतामा भारतको निर्णायक भूमिका र सोभियत संघ (हालको रूस) को समर्थन रहेको उल्लेख गरे।
उनले भने, “बंगलादेशको स्वतन्त्रता मुख्य रूपमा भारतको सहयोगबाट सम्भव भयो, र त्यसबेला रूसले पनि स्पष्ट समर्थन गरेको थियो।”
रूसको यो टिप्पणी भारत–बंगलादेश सम्बन्ध चिसिँदै गएको समयमा आएको हो। पछिल्ला घटनाक्रमपछि दुवै देशले अस्थायी रूपमा भिसा सेवा रोकेका छन्। बंगलादेशमा आगामी फेब्रुअरी १२ मा हुने आम निर्वाचनको सन्दर्भमा भारतप्रति असन्तुष्टि बढ्दै गएको देखिन्छ।
अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरूका अनुसार पश्चिमी देशहरूले बंगलादेशको आन्तरिक राजनीतिक घटनाक्रममा एकपक्षीय प्रतिक्रिया जनाइरहेका बेला रूसको धारणा भारतअनुकूल देखिन्छ। जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक राजन कुमारका अनुसार ऐतिहासिक रूपमा भारत–रूस सम्बन्ध मजबुत रहँदै आएको छ, जसको प्रभाव अहिलेको कूटनीतिक वक्तव्यमा पनि देखिएको छ।
भारतका पूर्व विदेश सचिव कंवल सिब्बलले पश्चिमी दूतावासहरूको भूमिकामाथि प्रश्न उठाउँदै केही नेताहरूको भारतविरोधी अभिव्यक्तिलाई पनि ध्यान दिनुपर्ने बताएका छन्।
बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको नेतृत्वमा देश राजनीतिक संक्रमणबाट गुज्रिरहेको छ। पूर्व प्रधानमन्त्री शेख हसिना हाल भारतमा बस्दै आएकी छन् र बंगलादेश सरकारले उनको प्रत्यर्पण माग गरिरहेको छ, जुन भारतले अस्वीकार गरेको छ।
विशेषज्ञहरूका अनुसार बंगलादेश भारतका लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण छ। करिब ९४ प्रतिशत सीमा भारतसँग जोडिएको बंगलादेश सुरक्षा, व्यापार र यातायातका हिसाबले भारतमा निर्भर छ भने भारतका पूर्वोत्तर राज्यहरूको पहुँचमा पनि बंगलादेशको भूमिका केन्द्रीय छ।
यस पृष्ठभूमिमा रूसको सन्देशलाई क्षेत्रीय स्थिरता र भारत–बंगलादेश सम्बन्ध सन्तुलनतर्फ उन्मुख गराउने कूटनीतिक संकेतका रूपमा हेरिएको छ।










