सिक्किम २३ दिसम्बर (विसं): आज सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले रालोङ केआरजी सामुदायिक खेल मैदान, बारफुङ निर्वाचन क्षेत्रमा आयोजित पहिलो राज्यस्तरीय एमएलए भेटरान्स गोल्ड कप २०२५ मा सहभागी हुन पाउँदा अत्यन्तै खुशी लागेको कुरा सामजिक संजाल मार्फत बताए।

आफ्नो सम्बोधनका क्रममा विधायक रिक्साल दोर्जे भुटियाले प्रस्तुत गरेका मागहरू—विशेषतः सडक सञ्जाल लगायत पूर्वाधार विकाससम्बन्धी विषयहरूलाई प्राथमिकताका साथ विचार गरी आवश्यक परीक्षण गरिनेछ भनि मुख्यमन्त्रीले आश्वासन दिए साथै क्षेत्र तथा जनताको समग्र विकास र हितका लागि आधारभूत पूर्वाधार सुदृढीकरणप्रति सरकार प्रतिबद्ध रहेको कुरा पुनः दोहोर्याए।

मुख्यमन्त्री तामाङले आफ्नो सामाजिक संजाल मार्फत गान्तोक निर्वाचन क्षेत्र र ग्नाथाङ–माछोङ निर्वाचन क्षेत्रबीच सम्पन्न भएको अन्तिम खेल प्रत्यक्ष अवलोकन गर्नु साँच्चिकै आनन्ददायी रहेको र जसमा गान्तोक निर्वाचन क्षेत्र विजयी बनेको कुरा उल्लेख गरे।

अन्तिम खेलअघि बारफुङ निर्वाचन क्षेत्र र सोरेङ निर्वाचन क्षेत्रबीचको प्रदर्शनी खेल अवलोकन गर्न पाउनु पनि सुखद अनुभव रहेको बताउँदै मुख्यमन्त्रीले त्यसपछि प्रस्तुत गरिएका जीवन्त सांस्कृतिक कार्यक्रमहरूले सिक्किमको समृद्ध सांस्कृतिक सम्पदालाई अत्यन्तै सुन्दर रूपमा उजागर गरे साथै यी सबै कार्यक्रमहरूले समारोहलाई थप रंगीन र उत्साहपूर्ण बनाउँदै खेल भावना र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने प्रशंसनीय पहलका रूपमा यस प्रतियोगितालाई स्थापित गरेको छ भनि बताए।










