काठमाडौं: फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टिम पुरानै स्थानमा यथावत् रहेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १८२औँ स्थानमा कायम छ।
वरीयतामा नेपाल दक्षिण एसियाली उपक्षेत्रमा भने चौथो स्थानमा छ। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १४२औँ स्थानमा छ। यस्तै, दोस्रो स्थानको माल्दिभ्स १७३औँ र तेस्रो स्थानको बंगलादेश १८०औँ स्थानमा कायम छन्।
यसैगरी दक्षिण एसियाको पाँचौँ स्थानमा रहेको भुटान १९२औँ स्थानमा छ। छैटौँ स्थानको श्रीलंका १९४औँ र सातौँ स्थानको पाकिस्तान १९९औँ स्थानमा छन्।
विश्व वरीयताको शीर्ष स्थानमा स्पेन कायमै छ। यस्तै, दोस्रो स्थानमा अर्जेन्टिना, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौँमा ब्राजिल पनि यथावत छन्।










