सिलिगुडी: आज दार्जिलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टले दार्जिलिङ जिल्लाको सिलिगुडी शहरस्थित मिलनमोड फुटबल मैदानमा आयोजना गरिएको “दार्जिलिङ सांसद खेल महोत्सव – फुटबल प्रतियोगिता, २०२५” मा सहभागी खेलाडीहरूसँग भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरे।
दार्जिलिङ लोकसभा क्षेत्रको सौन्दर्य यसको विविधतामै निहित रहेको सामाजिक संजालमा उल्लेख गर्दै सांसद विष्टले यो क्षेत्र भारतका सबैभन्दा विविधतापूर्ण क्षेत्रहरूमध्ये एक भएको बताए साथै यहाँ पहाड, तराई तथा डुवर्स क्षेत्र समावेश छ र विभिन्न जाति, भाषा तथा धार्मिक समुदायका मानिसहरू यहाँ बसोबास गर्छन् भने। तर खेलकुदप्रतिको प्रेम र माँ भारतीप्रतिको सम्मानले सबैलाई एउटै सूत्रमा बाँधेको कुरा पनि सांसदले बताए।
फुटबल यस क्षेत्रको अत्यन्त लोकप्रिय खेलमध्ये एक भएको र “दार्जिलिङ सांसद खेल महोत्सव – फुटबल प्रतियोगिता, २०२५” मा सम्पूर्ण लोकसभा क्षेत्रबाट अत्यन्त प्रतिभाशाली युवाहरूको सहभागिता रहेको जानकारी सांसदले सामाजिक सञ्जाल मार्फत दिए।

प्रतियोगितालाई अझ रोमाञ्चक बनाउन सम्पूर्ण लोकसभा क्षेत्रबाट खेलाडी छनोट गरी एमपी XI, एमएलए XI लगायतका टोलीहरू गठन गरिएको जनाउँदै, आज सम्पन्न एक रोमाञ्चक खेलमा एमपी XI टोलीले एमएलए XI (माटीगढा–नक्सलबारी) टोलीलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको भन्दै उनले खुशी व्यक्त गरे। सांसद विष्टले सामाजिक सञ्जालमार्फत “दार्जिलिङ सांसद खेल महोत्सव, २०२५” माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको परिकल्पनाअनुसार प्रतिभाशाली युवाहरूलाई आफ्नो प्रतिभा र खेलभावना प्रदर्शन गर्ने समग्र तथा प्रभावकारी मञ्चको रूपमा स्थापित भइसकेको बताए।
फुटबल प्रतियोगिताको भव्य फाइनल आगामी २५ डिसेम्बर बिहान ९:३० बजेदेखि सिलिगुडीस्थित मिलन मोर फुटबल मैदानमा आयोजना हुने जानकारी दिँदै सांसद विष्टले उक्त अवसरमा माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू भर्चुअल माध्यमबाट कार्यक्रमसँग जोडिनुहुने पनि बताए।
उनले सम्पूर्ण लोकसभा क्षेत्रका जनतालाई खेल अवलोकन गर्न तथा २५ तारिखको फाइनलमा उपस्थित भई सांसद खेल महोत्सवसँग जोडिन हार्दिक अनुरोध गरे।
उत्साहका साथ सहभागिता जनाएका सबै खेलाडी, प्रशिक्षक तथा टोली मार्गदर्शकहरूलाई सांसद विष्टले हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गरे साथै प्रतियोगितालाई सफल बनाउन निरन्तर मेहनत गर्ने सबै आयोजक तथा स्वयंसेवकहरूप्रति कृतज्ञता प्रकट गर्दै, सर्वश्रेष्ठ टोलीले विजय हासिल गरोस् भन्ने कामना पनि व्यक्त गरे।










