जकार्ता: इन्डोनेशियाको मुख्य टापु जाभामा आइतबार राति ढिलो एक यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोका अनुसार ३४ जना सवार बस टोल रोडमा नियन्त्रण गुमाएर कंक्रीटको अवरोधकमा ठोक्किएपछि पल्टिएको हो।
उनका अनुसार अन्तर–प्रान्तीय बस राजधानी जकार्ताबाट देशको प्राचीन शाही शहर योग्याकार्तातर्फ जाँदै गर्दा ‘सेन्ट्रल जाभा’को सेमाराङ शहरस्थित क्राप्याक टोलवेमा घुमाउरो मोडमा पल्टिएको हो। बुडियोनोले भने, “दुर्घटना अत्यन्तै भीषण थियो, जसका कारण धेरै यात्रु उछिट्टिएर खसे र केही बसभित्रै फसे।”
उनले थपे कि दुर्घटनापछि करिब ४० मिनेटमा प्रहरी र उद्धार टोली घटनास्थलमा पुगे र त्यहाँबाट छ यात्रुको शव बरामद गरिएको थियो।
१८ घाइतेको अवस्था गम्भीर:
बुडियोनोका अनुसार अन्य १० जनाको अस्पताल लैजाँदै गर्दा वा उपचारका क्रममा मृत्यु भयो। नजिकका दुई अस्पतालमा उपचाररत १८ जना पीडितको अवस्था गम्भीर रहेको छ। समाचार च्यानलहरूमा प्रसारित भिडियोमा पहेँलो रंगको बस पल्टिएको देखिन्छ, जसको वरिपरि राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका कर्मचारी, प्रहरी र सर्वसाधारण उभिएका छन्। भिडियोमा एम्बुलेन्सहरूले घाइते र मृतकलाई घटनास्थलबाट लैजाँदै गरेको दृश्य पनि देखिन्छ।
तेज गतिका कारण दुर्घटना:
सेन्ट्रल जाभाका प्रहरी प्रमुख रिबुत हरि विबोवोका अनुसार प्रत्यक्षदर्शीहरूले बस तीव्र गतिमा रहेको र चालकले नियन्त्रण गुमाएको बताएका छन्। उनका अनुसार बस चालकलाई गम्भीर चोट लागेको भए पनि उपचारका क्रममा उनी बोल्न सक्ने अवस्थामा छन्। विबोवोले भने, “हामी दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छौं र घाइते चालकसँग सोधपुछ गरिरहेका छौं।”










