काठमांडू: सहकारी प्रकरणमा पुर्पक्षका लागि १० महिनासम्म थुनामा रहेपछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने क्रममा अघिल्लो सरकारप्रति आक्रामक अभिव्यक्ति दिएका छन्। तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर शुक्रबार थुनामुक्त भएलगत्तै लामिछानेले आफूमाथि परेको अन्यायको हिसाब खोज्ने बताएका थिए।
आफूलाई अघिल्लो सरकारले ‘प्रतिशोधपूर्वक मुद्दा चलाएको’ दाबी गर्दै आएका लामिछानेले आइतवार पार्टी कार्यालयमा पुगेर प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरिरहेका नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनावी मैदानमा आउन चुनौती दिए। दल र राजनीतिक शक्तिको नाम उल्लेख नगरी उनले “भागेका केही शक्ति आफैँ सानोतिनो घटना घटाएर चुनाव बिथोल्न लागिरहेको” आरोप लगाए।
हालै पार्टी नेतृत्वमा पुनर्निर्वाचित भएका एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै लामिछानेले भने, “चुनावको वातावरण बिगार्न पर्दैन। पार्टीको चुनाव जितेजस्तै आम चुनाव पनि जिते भइगयो।”
भदौको आन्दोलनमा जनताको माग पूरा गर्न, निर्वाचन गर्ने र भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्धता जनाउँदै लामिछानेले पुराना राजनीतिक शक्तिहरूलाई लक्षित गर्दै आफ्नो हिसाब खोज्ने बताए। रिहा भएकै दिन रुपन्देहीमा उनले भने, “यिनीहरूले यो देशमाथि गरेको अन्यायको हिसाब त गर्नुपर्छ। ममाथि गरेको अन्याय केही पनि होइन, त्यो सबै हिसाब गर्नु छ। हिसाब मिलाउन बाँकी नै छ।”
आफ्नो निर्वाचन क्षेत्रमा चितवनको भरतपुर पुगेका लामिछानेले भने कि कुनै दलप्रति प्रतिशोध नगर्ने भए पनि देशलाई ३०–३५ वर्षसम्म जसरी राखियो त्यसको हिसाब माग्ने अधिकार आफूलाई छ। उनले पुराना नेताहरूलाई ‘थान्कोमा बस्न’ चेतावनी दिँदै भने, “यदि दुई तिहाइको दम्भ, भिडभाडको दम्भ र पाखुराको दम्भ देखाउनु भयो भने फेरी हेलिकप्टरमै झुन्डिएर भाग्नुपर्छ।”
स्रोतहरूका अनुसार नेकपा एमालेका सचिव राजन भट्टराईले लामिछानेले दलहरूमाथि प्रहार गरेर आफूमाथि उठेका प्रश्न पन्छाउने प्रयास गरिरहेको बताए। राजनीतिक टिप्पणीकार अरुणकुमार सुवेदीले भने लामिछानेको शैली व्यक्तिकेन्द्रित देखिएको र गालीगलौजबाट बाहिरिनु पर्ने बताएका छन्।










