ढाका/नयाँ दिल्ली: बंगलादेशको राजधानी ढाकामा शनिबार कडा सुरक्षा व्यवस्थाका बीच शेख हसिनाका विरोधी युवा नेता शरीफ उस्मान हादीलाई राष्ट्रिय कवि काजी नजरुल इस्लामको समाधिस्थलको छेउमा दफन गरिएको छ। कडा सुरक्षाबीच जनाजे नमाज अदा गरिएको थियो, जसमा ठूलो संख्यामा मानिसहरूको उपस्थिति रहेको थियो।
हादीको मृत्यु भएपछि देशभर अशान्ति फैलिएको छ। अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनूस आफ्ना सल्लाहकार परिषद्का सदस्यहरू तथा सेना प्रमुख जनरल वाकर–उज–जमानसँगै माणिक मिया एभेन्युस्थित संसद भवन परिसरको ‘साउथ प्लाजा’ मा ‘इन्कलाब मञ्च’ का ३२ वर्षीय प्रवक्ता हादीको जनाजे नमाजमा सहभागी भए। युनूसले जनाजे नमाजअघि संक्षिप्त वक्तव्य पनि दिनुभयो। पूर्व प्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी), जमात–ए–इस्लामी तथा विद्यार्थी नेतृत्वको नेशनल सिटिजन पार्टी (एनसीपी) का नेताहरूले पनि जनाजे नमाज अदा गरे। हादीको मृत्यु पश्चात बंगलादेशमा राजकीय शोक घोषणा गरिएको छ। हादी गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएका विरोध प्रदर्शनका प्रमुख नेतामध्ये एक थिए।
यी विरोध प्रदर्शनका कारण पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकार पतन भएको थियो। हादी १२ फेब्रुअरीमा हुने आम चुनावका उम्मेदवार पनि थिए। १२ डिसेम्बरका दिन मध्य ढाकाको विजयनगर क्षेत्रमा नकाबपोश बन्दुकधारीहरूले ‘इन्कलाब मञ्च’ का प्रवक्ता हादीले आफ्नो चुनाव प्रचार सुरु गरिरहेका बेला उनको टाउकोमा गोली हानेका थिए। पछि उपचारका लागि सिंगापुर लगिएका हादीको उपचारकै क्रममा मृत्यु भएको थियो।











