दलपचन्द: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टलाई यहाँ दलापचन्दमा रहेको दीपंकर बुद्ध पार्कको पूजा–अनुष्ठानमा सहभागी हुने सौभाग्य प्राप्त भयो। यस पवित्र र पुण्यकार्यमा आदरणीय गुरुजनहरूको सान्निध्यमा सहभागी भई आध्यात्मिक ज्ञान प्राप्त गर्ने तथा आन्तरिक शान्तिको अनुभूति गर्ने सांसदलाई सुअवसर मिल्यो।
आजको दिन अत्यन्तै महत्वपूर्ण र शुभ छ, किनकि एकातर्फ लेप्चा र भुटिया, डुक्पा तथा यिमी समुदायले लोसुङ/नामसुङ पर्व मनाइरहेका छन् भने अर्कोतर्फ आज अन्तिम महान् लेप्चा राजा गेबु असुकको २९४औँ जन्मजयन्ती पनि हो। यति पवित्र र विशेष दिनमा दीपंकर बुद्ध पार्कको उद्घाटन पूजा समारोहको साक्षी बन्न पाउनु सांसदको लागि मात्र नरहेर यस क्षेत्रका सम्पूर्ण जनताका लागि पनि ठूलो सौभाग्यको कुरा हो भनि उनले सामाजिक संजाल मार्फत आफ्नो मन्तव्य जाहेर गरेका छन्।
श्री विष्ट भन्छन्, “महान् लेप्चा राजा गेबो असुकज्यूको योगदान लेप्चा संस्कृति, जनता र समुदायलाई अतिक्रमणबाट सुरक्षित राख्न अतुलनीय रह्यो। उहाँको उदारता र करुणाको गाथा कालिम्पोङ पहाड र लेप्चा समुदायको इतिहाससँग गहिरोसँग गाँसिएको छ, जसलाई अलग–थलग रूपमा हेर्न सकिँदैन। म पनि आफ्नो तर्फबाट यस बुद्ध पार्कको निर्माणका लागि सानो आर्थिक सहयोग गर्न पाउँदा गर्व महसुस गर्दछु। यस पार्कको निर्माण अनुयायी, भक्तजन, दाता, स्थानीय बासिन्दा, विभिन्न समुदाय, क्लब तथा संस्थाहरूको दृढ आस्था र विश्वासको प्रत्यक्ष प्रमाण हो। साथै, यो पनि प्रमाणित हुन्छ कि यदि हामी पवित्र उद्देश्य र अटल विश्वासका साथ अघि बढ्यौँ भने, हाम्रो समाज जात, वर्ण र धर्मका सीमाभन्दा माथि उठेर सधैँ एकताबद्ध बन्न सकियोस्।









