जुबिन गर्ग मृत्यु प्रकरणमा नयाँ मोड

6627ccd0-9769-11f0-a8dc-135f553b0693

असम पुलिसको दाबी विपरीत सिंगापुर पुलिसद्वारा षड्यन्त्रको इन्कार

सिंगापुर: प्रख्यात गायक जुबिन गर्गको मृत्यु प्रकरणको अनुसन्धान जारी रहेको सिंगापुर पुलिसले जनाएको छ, तर हालसम्म कुनै आपराधिक षड्यन्त्रको संकेत फेला नपरेको स्पष्ट पारेको छ। गर्गको १९ सेप्टेम्बरमा सिंगापुरमा समुद्रमा पौडी खेल्ने क्रममा रहस्यमय परिस्थितिमा मृत्यु भएको थियो।
सिंगापुर पुलिसले बिहीबार जारी गरेको वक्तव्यमा भनिएको छ कि यो मामला सिंगापुर कोरोनर्स ऐन–२०१० अन्तर्गत सिंगापुर पुलिस बल (एसपीएफ) को अनुसन्धानमा छ। वक्तव्यमा भनिएको छ, “हालसम्मको अनुसन्धानका आधारमा जुबिन गर्गको मृत्युमा कुनै आपराधिक षड्यन्त्रको शंका देखिएको छैन।”
अनुसन्धान पूरा भएपछि निष्कर्षहरू सिंगापुरका स्टेट कोरोनर (सरकारी शव परीक्षण अधिकारी) समक्ष पेश गरिनेछ, जसले कोरोनर इन्क्वायरी (सीआई) सञ्चालन गर्नेछन्। यो इन्क्वायरी सन् २०२६ को जनवरी र फेब्रुअरीमा तय गरिएको छ।
एसपीएफका अनुसार, कोरोनर इन्क्वायरी एक तथ्य खोजी प्रक्रिया हो, जसको उद्देश्य मृत्युका कारण र परिस्थितिहरू पत्ता लगाउनु हो। अनुसन्धान पूरा भएपछि यसको निष्कर्ष सार्वजनिक गरिनेछ। प्रहरीले यस प्रकरणमा गम्भीर र व्यावसायिक अनुसन्धानप्रति आफू प्रतिबद्ध रहेको बताएको छ र सम्बन्धित पक्षहरूलाई धैर्य र सहयोग गर्न आग्रह गरेको छ। साथै, जनतालाई अनुमान र अपुष्ट सूचना नफैलाउन अनुरोध गरिएको छ।
यसैबीच, भारतमा जुबिन गर्गको मृत्यु प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान टोली (एसआईटी) ले गत साता अदालतमा दायर गरेको आरोपपत्रमा चार जनाविरुद्ध हत्या मुद्दा दर्ता गरेको छ। तीमध्ये गायकका सचिव सिद्धार्थ शर्मा र महोत्सव आयोजक श्यामकानु महन्त पनि समावेश छन्। जुबिन गर्गले २० सेप्टेम्बरमा सिंगापुरको सनटेक कन्वेन्सन एन्ड एक्जिबिसन सेन्टर मा आयोजना हुने चौथो ‘नर्थईस्ट इन्डिया फेस्टिभल’ मा प्रस्तुति दिने कार्यक्रम तय भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement