बंगलादेशमा फेरि हिंसा भड्कियो

84c4cdd10ae6b21be2bc235360c7c1bde1e905d764e0a7582a158b7a6f912b03

दुई अखबारका कार्यालय जलाइए, भारतीय उपदूतावासमाथि पनि हमला

ढाका: बंगलादेशमा ‘जुलाई विद्रोह’ का प्रमुख नेता तथा इन्कलाब मञ्चका प्रवक्ता शरीफ उस्मान हादीको छ दिनसम्म अस्पतालमा जीवन–मृत्युसँग संघर्षपछि बिहीबार राति सिंगापुरमा निधन भएको छ। गत साता अज्ञात बन्दुकधारीहरूले ढाकाको विजयनगर क्षेत्रमा चुनाव प्रचार शुरु गर्न लागेका बेला हादीको टाउकोमा गोली प्रहार गरेका थिए, जसपछि उनको अवस्था गम्भीर बनेको थियो।
हादीको निधनपछि राजधानी ढाकामा हिंसा भड्किएको छ। आक्रोशित भीडले दुई प्रमुख सञ्चारमाध्यमका कार्यालयहरूमा आगजनी गरेको छ। बंगलादेशको चर्चित पत्रिका ‘प्रोथोम आलो’ को कार्यालयमा तोडफोड गर्दै आगो लगाइयो भने नजिकै रहेको ‘डेली स्टार’ को कार्यालयमा पनि आगजनी गरियो। घटनाका बेला कार्यालयभित्र पत्रकार र कर्मचारीहरू फसेका थिए।
यसैबीच, चटगांवस्थित भारतीय उपदूतावासमाथि पनि भीडले आक्रमण गरेको छ। सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा उपदूतावासतर्फ ढुंगा प्रहार भइरहेको देखिन्छ।
हादी को थिए?
सन् २०२४ को जुलाई महिनामा आरक्षण नियममा सुधारको माग गर्दै देशव्यापी विद्यार्थी आन्दोलन भएको थियो, जसलाई ‘जुलाई विद्रोह’ भनिन्छ। उक्त आन्दोलनका प्रमुख नेता हादी आगामी १२ फेब्रुअरीमा हुने आम चुनावका उम्मेदवार थिए।
युनुस समर्थक मानिने अखबारमाथि किन आक्रमण?
प्रदर्शनकारीहरूले राजधानीको कारवान बजारस्थित शाहबाग चोक नजिक रहेको ‘प्रोथोम आलो’ र ‘डेली स्टार’ का कार्यालयमा तोडफोड र आगजनी गरे। यी दुवै पत्रिकालाई अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसप्रति नरम मानिने गरिन्छ, तर आक्रमणको स्पष्ट कारण अझै खुल्न सकेको छैन।
‘३२ धानमण्डी’ मा पनि आक्रमण:
प्रदर्शनकारीहरू बंगलादेशका संस्थापक शेख मुजीबुर रहमानको ऐतिहासिक निवास ‘३२ धानमण्डी’ तर्फ अघि बढेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ। यसअघि पनि उक्त भवनमा आगजनी र ध्वंस गरिएको थियो।
युनुसद्वारा एकदिने राष्ट्रिय शोक घोषणा:
अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले राष्ट्रका नाममा सम्बोधन गर्दै हादीको मृत्यु पुष्टि गरे र दोषीहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले एकदिने राष्ट्रिय शोकको घोषणा गर्दै नागरिकहरूलाई संयम अपनाउन आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement