सिलगढी: शिक्षासँगै व्यावहारिक अनुभवमार्फत विद्यार्थीहरूको ज्ञानलाई अझ समृद्ध बनाउने उद्देश्यले सिलगढी नगरनिगमको पहलमा ‘आलो दिशारी क्याम्प’ नामक शैक्षणिक भ्रमण आयोजना गरिएको छ।

मंगलबार बिहान सिलगढी बोइज हाई स्कूल परिसरबाट सिलगढीका मेयर गौतम देव ले हरियो झण्डा देखाएर भ्रमण टोलीलाई प्रस्थान गराउनुभयो। कार्यक्रममा मेयर परिषद्का सदस्य, नगरनिगमका अधिकारी तथा सम्बन्धित विद्यालयका शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो।
करिब २२५ जना विद्यार्थीहरू सहभागी रहेको यो शैक्षणिक भ्रमण माटीगाड़ास्थित उत्तर बंगाल विज्ञान केन्द्र सम्म आयोजना गरिएको हो। विज्ञान केन्द्रमा विद्यार्थीहरूले दिनभरि विज्ञानमा आधारित विभिन्न प्रदर्शनी, मोडल तथा प्रयोगात्मक गतिविधिहरूको अवलोकन र अनुभव गर्ने अवसर पाए।
भ्रमण अवधिभर विद्यार्थीहरूका लागि बिहान तथा दिउँसोको भोजनको व्यवस्था पनि गरिएको थियो। कक्षाकोठाभन्दा बाहिर निस्केर रमाइलो वातावरणमा सिक्ने यस पहलले विद्यार्थीहरूमा विशेष उत्साह देखिएको थियो।
यस अवसरमा मेयर गौतम देवले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने, “शिक्षालाई किताबमा मात्र सीमित नराखी व्यवहारिक अनुभवका माध्यमबाट पनि सिकाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।” उनले विद्यार्थीहरूले उत्तर बंगाल विज्ञान केन्द्रमा बसेर विभिन्न विषयहरूलाई नजिकबाट हेर्ने र बुझ्ने अवसर पाउने उल्लेख गर्दै आफू पनि विद्यार्थीहरूसँगै उपस्थित रहने जानकारी दिए।









